काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय)को अभिलेखीकरण नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
१२औं राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको कार्यक्रममा ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी)को अभिलेखीकरण नहुँदा लगानीकर्ताले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको बताए।
उनले यस विषयमा उद्योगमन्त्री दीपककुमार साह र सचिव रुद्र सिंह तामाङको ध्यानाकर्षण गराए। ‘उद्योग प्रवर्धन बोर्डमार्फत एक पटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ एफडीआई भित्र्याउन ठूलो मद्दत पुग्नेछ,’ ढकालले भने।
उनले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै सरकारलाई धन्यवाद दिए। सम्मानित व्यवसायीका तर्फबाट बोल्दै ढकालले मन्त्रिपरिषद् बैठकले ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकको रूपमा सम्मान गरेको भन्दै सरकारलाई धन्यवाद दिएका हुन्।
‘पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ। अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ,’ उनले भने।