काठमाडौं। चालु आर्थिक वर्ष ४ महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात हुँदा कच्चा भटमास तेल पहिलो नम्बरमा यथावत रहेको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म ६२ अर्ब ८१ करोड रुपैयाँको ३५ करोड ४५ लाख लिटर कच्चा भटमास तेल आयात भएको छ। कच्चा भटमास तेल अर्जेन्टिना, चीन र ब्राजिलबाट ल्याइएको हो। सरकारले कच्चा भटमास तेल आयातबाट चार महिनामा १ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
यस्तै, ५९ अर्ब २८ करोडको ३ लाख ४९ हजार किलोलिटर डिजल, ३४ अर्ब ४२ करोडको २ लाख ३९ हजार किलोलिटर पेट्रोल र २९ अर्ब ४७ करोडको २१ करोड ७२ लाख ३८ हजार किलो एलपी ग्यास आयात भएको छ।
विभागका अनुसार चार महिनामा २२ अर्ब २६ करोड रुपैयाँको स्पन्ज आइरन, २० अर्ब ६८ करोड रुपैयाँको ८ लाख ७१ हजार थान स्मार्ट फोन, २० अर्ब ३१ करोड रुपैयाँको १७ करोड किलो मल र २० अर्ब ३१ करोडका ९ हजार भन्दा धेरै विद्युतीय सवारीसाधन आयात भएका छन्।