BIZMANDU
www.bizmandu.com

पाँच हजार डलर खर्च गर्ने पर्यटक भित्र्याउने एउटा गन्तव्य, पर्ला बालेन सरकारको नजरमा?

२०८३ मंसिर ९

पाँच हजार डलर खर्च गर्ने पर्यटक भित्र्याउने एउटा गन्तव्य, पर्ला बालेन सरकारको नजरमा?
पाँच हजार डलर खर्च गर्ने पर्यटक भित्र्याउने एउटा गन्तव्य, पर्ला बालेन सरकारको नजरमा?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह सरकारले हाइइन्ड पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यो लक्ष्य अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत खर्चालु पर्यटक भित्र्याउनका लागि आवश्यक गन्तव्यको प्रवर्धनमा जुटेको छ।

GBIME
Tata

उच्च स्रोतका अनुसार दिनमै हजार डलर खर्च गर्ने पर्यटक भित्र्याउनका लागि आवश्यक गन्तव्य खोजी भइरहेको छ।

त्यही कारण कुनै समय एसियामै पहिलो वाइल्ड लाइफ टुरिजम प्रवर्धन गरेको चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्सको पुनर्जीवन पाउने अनुमान गरिएको छ।

टाइगर टप्समा अझै पनि रेखदेखका दुई वटा हात्तीसहित कर्मचारी खटिएका छन्। सरकारको नेतृत्वमा बालेन आएसँगै रिसोर्ट खुल्नेमा लगानीकर्ता र कर्मचारी पनि आशावादी छन्। बालेनले हाइइन्ड पर्यटनप्रति चासो राख्दै आएकाले पनि टाइगर टप्सले पुनर्जीवन पाउने सम्भावना उनीहरुले देखेका हुन्।

वाइल्ड लाइफ टुरिजममार्फत नेपाललाई विश्वमै चिनाउन सफल भएको टाइगर टप्स बन्द भएको डेढ दशक भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र विसं २०२० मा अमेरिकी नागरिक टुडी ली वाने र हेर्ब केलिनले टाइगर टप्स स्थापना गर्दा एसियामै पहिलो वाइल्ड लाइफ टुरिजमको रुपमा दर्ज भएको थियो।

यो रिसोर्ट २०२८ सालमा बेलायती नागरिक जिम एवर्डस्ले खरिद गरेका थिए। जंगलभित्रको टाइगर टप्स रिसोर्ट त्यो बेलामा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र थियो।

पर्यटन क्षेत्रका लागि ‘हाइइन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्‍याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो। पर्यटकहरु काठमाडौंबाट हेलिकोप्टर तथा ट्विनअटर विमानमा मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जंगल पस्थे। त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे।

अहिले मेघौली विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्याराजम्पिङ गर्दै आएको छ। टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले ५०० अमेरिकी डलरसम्म तिर्थे।

टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायत प्रतिष्ठित व्यक्ति बसेको इतिहास छ। त्यो रिसोर्ट संचालनले देशको अर्थतन्त्रलाई समेत ठूलो टेवा पुगेको थियो। निकुञ्जभित्र टाइगर टप्स मात्रै होइन, मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्याड जंगल रिसोर्ट, टेम्पल टाइगर रिसोर्ट, गैंडा वाइल्ड लाइफ क्याम्प पनि थिए। ती रिसोर्ट पनि लामो समयदेखि बन्द छन्।

निकुञ्जभित्रका होटलले आफूले मात्र कमाइ गरेका थिएनन्, देशको अर्थतन्त्रलाई पनि टेवा दिएको तथ्यांकले देखाउँछ।

‘कम पर्यटकमा पनि धेरै राजस्व राज्यले पाउने भएकाले निकुञ्जभित्रका होटल पुन: संचालन गर्न दिनु उपयुक्त हुन्छ,’ एक पर्यटन विज्ञले तथ्यांक प्रस्तुत गर्दै बिजमाण्डूसँग भने, ‘टाइगर टप्सले मात्र २००३-२०१२ को बीचमा प्रति वर्ष औसतमा १ करोड १६ लाख रुपैयाँ राष्ट्रिय निकुञ्ज शुल्क तिरेको थियो।’

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा चितवन राष्ट्रिय निकुञ्जमा १ लाख ८७ हजार १०९ पर्यटक भित्रिएका थिए। तीमध्ये ७६ प्रतिशत विदेशी थिए। त्यो बेलामा निकुञ्जले २९ करोड ४० लाख रुपैयाँ राजस्व पाएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा १ लाख ९० हजार ४५८ पर्यटक निकुञ्जभित्र गएका थिए। तीमध्ये ८२ प्रतिशत स्वदेशी पर्यटक थिए। त्यो आर्थिक वर्ष निकुञ्जले ११ करोड ५० लाख मात्रै राजस्व पाएको थियो। कोभिडका कारण त्यो वर्ष विदेशीभन्दा स्वदेशी पर्यटक धेरै थिए।

‘यो तथ्यांकले निकुञ्जभित्र भएका होटलले राज्यलाई गर्ने योगदान ठूलो हुन्छ भन्ने स्पष्ट हुन्छ। कम पर्यटकले राजस्व बढी तिर्छन् भनेपछि यसलाई संचालन गर्न दिँदा राज्यलाई फाइदा छ,’ ती विज्ञले भने, ‘रिसोर्टहरुले बाघ लगायत जंगली जनावर संरक्षणका लागि संयुक्त गस्तीका लागि सवारी, कर्मचारी, डुंगादेखि हात्तीसम्म उपलब्ध गराउँदै आएका थिए। रिसोर्टहरु संरक्षणका साझेदार पनि दिए। त्यही बेलामा टाइगर टप्सले चोरी सिकारी नियन्त्रणका लागि सरकारसँग सहकार्य पनि गरेको थियो।’

ती विज्ञका अनुसार विश्वका धनाढ्य पर्यटक चितवन आउने गर्थे। करिब ३० प्रतिशत पर्यटक जंगल सफारीकै लागि जाने गर्थे। उनका अनुसार सन् २००२ देखि २०१२ सम्म चितवन राष्ट्रिय निकुञ्जको कुल शुल्कमा करिब २० प्रतिशत योगदान टाइगर टप्सको मात्रै थियो। जबकी त्यहाँ निकुञ्जमा पुगेकामध्ये केवल ३.५८ प्रतिशत पर्यटक मात्रै बसेका थिए।

टाइगर टप्सका प्रति पर्यटकले ३ हजार २६५ रुपैयाँ शुल्क तिर्थे। जबकी अन्यत्रबाट निकुञ्जको औसत शुल्क ५८२ रुपैयाँ मात्रै थियो।

ती विज्ञले विश्वका अन्य देशमा पनि यही मोडलमा निकुञ्जभित्र होटल संचालन गर्न दिएको बताउँदै बोत्सवानाको ओकाभाङ्गो डेल्टा भन्ने ठाउँमा वर्षेनि एक लाख मात्रै पर्यटक जाने गरेको जानकारी दिए।

‘त्यहाँभित्र ६० वटा रिसोर्ट छन्। प्रत्येकमा १६ देखि २४ वटा कोठा छन्। प्रति पर्यटक एक रातको १३ सय अमेरिकी डलर लिने गरिन्छ,’ उनले भने, ‘हेर्नुस एक जना पर्यटकले पाँच हजार भन्दा बढी खर्च गर्छन्।’

ती विज्ञका अनुसार पर्यटक सीमित हुँदा पर्यावरण र जैविक विविधतामा दबाब कम पर्छ। बोत्सवानाले उच्च मूल्यका पर्यटक भित्र्याउने तथा हात्ती, सिंह लगायत जनावरको संरक्षणमा जोड दिएको छ।

उनले कन्सेसनमा आधारित भएको बोस्वाना र भारतको रणथम्भोर टाइगर रिजर्भको समेत उदाहरण दिँदै भने- त्यो ठाउँ बाघ अवलोकनका लागि प्रशिद्ध गन्तव्य थियो। तर, अत्यधिक पर्यटकको चाप, अनियन्त्रित पर्यटन गतिविधिका कारण भारतको सर्वोच्च अदालतले सन् २०२५ मा बाघको कासस्थान रहेको क्षेत्रभित्र सफारीमा प्रतिबन्ध लगायो।

ती विज्ञले दुई वटा उदाहरण दिँदै धेरै खर्च गर्ने पर्यटक भित्र्याउनका लागि बालेन सरकारले कन्सेसनमा आधारित टाइगर टप्स लगायत होटल पुन: संचालनको वातावरण बनाउनुपर्ने बताए।

‘निकुञ्जभित्रका रिसोर्टले वन्यजन्तुको हानि नोक्सानी होइन संरक्षण नै गरेका थिए। सँगै रोयल्टी पनि राज्यले उच्च पाएको थियो। टाइगर टप्सले तिरेको रोयल्टीको ५०% चितवन राष्ट्रिय निकुञ्ज तथा बफर जोन व्यवस्थापनमा खर्च हुने गरेकाले पूर्वाधारमा पनि दाताको भर पर्नुपर्ने अवस्था थिएन। त्यसैले यी रिसोर्ट संचालन हुँदा औसतमा पाँच हजार डलरसम्म खर्च गर्ने पर्यटक नेपाल आउन सक्छन्,’ उनले भने।