काठमाडौं। दसैंका कारण असोजमा ह्वात्तै बढेको आयात कात्तिकमा घटेको छ। दसैं तिहार र छठका कारण कात्तिकमा १९ दिन सार्वजनिक बिदा हुँदा त्यसकै प्रभाव आयातमा परेको हो।
असोजमा २ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँको वस्तु आयात भएकामा साउनमा जम्मा १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँको सामान भित्रिएको छ। साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड र भदौमा २ खर्ब १४ अर्ब ७ करोड रुपैयाँको वस्तु आयात भएको थियो।
चालु वर्ष चार महिनामा भने आयात निर्यात दुवै पोहोरको भन्दा बढैको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार आयात ३१.७७ र निर्यात ४३.४८ प्रतिशतले बढेको हो।
साउनदेखि कात्तिकसम्म ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। पोहोर पहिलो चार महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोडको वस्तु भित्रिएको थियो।
यस्तै चार महिनामा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। त्यसमध्ये करिब २० अर्बको वस्तु कात्तिकमा निर्यात भएको हो। पोहोर चार महिनामा ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांक छ।
धेरै मूल्यको आयात हुने वस्तुको सूचीमा कच्चा भटमास तेल पहिलो नम्बरमा छ। चार महिनामा ६२ अर्ब ८१ करोड रुपैयाँको कच्चा भटमास तेल भित्रिएको छ। कच्चा भटमास तेल अर्जेन्टिना, चीन र ब्राजिलबाट ल्याइएको हो।
यस्तै, ५९ अर्ब २८ करोडको ३ लाख ४९ हजार किलोलिटर डिजल, ३४ अर्ब ४२ करोडको २ लाख ३९ हजार किलोलिटर पेट्रोल र २९ अर्ब ४७ करोडको २१ करोड ७२ लाख ३८ हजार किलो एलपी ग्यास आयात भएको छ।