BIZMANDU
www.bizmandu.com

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनको आह्वान

२०८३ मंसिर ९

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनको आह्वान
लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनको आह्वान

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

GBIME
Tata

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै बालेनले लैंगिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरेका छन्।

उनले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिंदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताएका छन्।

उनले संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

बालेनले लैंगिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्धन तथा पीडितको संरक्षण र पुनर्स्थापनालाई सरकारले प्राथमिकता दिएको उल्लेख गरेका छन्। यी प्रयासलाई प्रभावकारी बनाउन कानुन कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।