काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राज्यका संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन चेतावनी दिएका छन्। अहिले सत्तामा रहेको रास्वपा सधैं सत्तामा नरहने भन्दै उनले राज्यका निकायको दुरुपयोगले भविष्यमा राजनीतिक बदला लिने प्रवृत्ति संस्थागत हुन सक्ने बताए।
रोल्पाको पाछावाङमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पुनले प्रहरी, प्रशासन, न्यायालय र संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताए। प्रहरी अनुसन्धान र मुद्दा प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारले हस्तक्षेप गर्दा राज्य संयन्त्रको निष्पक्षता कमजोर हुने उनको भनाइ थियो।
‘प्रहरीमा उजुरी परेपछि स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्छ । प्रधानमन्त्रीका सल्लाहकार वा मन्त्रीका सल्लाहकारले यसलाई मुद्दा चलाऊ, त्यसलाई छानबिन गर भन्ने हो भने निष्पक्षता कहाँ रहन्छ?,’ उनले प्रश्न गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई समेत बोलाएर छानबिन गर्न सक्ने स्वतन्त्रता हुनुपर्ने उल्लेख गर्दै पुनले राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार परिचालन गर्न नहुने बताए। ‘आज एउटा पक्षले प्रतिशोध साँध्ने र भोलि अर्को पक्ष सत्तामा पुगेपछि त्यसैको बदला लिने चक्रले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने’ उनको भनाइ थियो।
दक्षिण एसियाका मुलुकमा राजनीतिक शक्ति र राज्यका निकायबीचको टकरावले अस्थिरता निम्त्याएको उल्लेख गर्दै उनले लोकतन्त्रमा कुनै पनि निकाय निरङ्कुश बन्न नहुने बताए। संसद्, सरकार र न्यायालयबीच शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन कायम हुनुपर्ने उनको भनाइ थियो। सञ्चारमाध्यम र नागरिकले पनि राज्यका निकायका गलत काममाथि प्रश्न उठाउनुपर्ने उनले बताए।
‘सधैं कोही मान्छे जित्दैन, सधैं कोही सत्तामा पनि हुँदैन। सधैं कोही प्रतिपक्षमा पनि हुँदैन,’ उनले भने, ‘आज को पर्यो, भोलि को पर्छ र पर्सि को आउँछ भन्दा पनि लोकतन्त्र र प्रणाली जोगिनुपर्छ।’
पुनले वर्तमान सरकारको कार्यसम्पादनमाथि पनि प्रश्न उठाए। आठ महिना पुग्न लाग्दासमेत किसानले समयमा मल नपाएको, राजधानीमै ग्यासका लागि लाइन बस्नुपरेको र विकास खर्च कमजोर रहेको उनले बताए। महँगी ५ प्रतिशतभन्दा कमबाट बढेर ७ प्रतिशतसम्म पुगेको दाबी गर्दै उनले जनताको दैनिक जीवनयापन कठिन बनेको बताए।
‘पहिले हामी सरकारमा हुँदा जनताले प्रश्न गर्थे, अहिले हामी प्रश्न गर्ने ठाउँमा छौँ। जनताले नै कसैलाई प्रश्न गर्ने र कसैलाई जवाफ दिने जिम्मेवारी दिएका छन्,’ उनले भने।