BIZMANDU
www.bizmandu.com

वित्तीय अपराधमा ‘मनी म्युल’को जालो, निर्दोष पक्राउ पर्दा योजनाकार उम्किने जोखिम

२०८३ मंसिर ८

वित्तीय अपराधमा ‘मनी म्युल’को जालो, निर्दोष पक्राउ पर्दा योजनाकार उम्किने जोखिम
वित्तीय अपराधमा ‘मनी म्युल’को जालो, निर्दोष पक्राउ पर्दा योजनाकार उम्किने जोखिम

काठमाडौं। सप्तरीका इब्राहिम मियालाई पाँच दिनमै १० वटा बैंक खाता खोल्न कुनै कठिनाइ भएन। उनी दैनिक एक–दुई वटा बैंक पुग्थे, आफ्नो नागरिकता र मोबाइल नम्बर प्रयोग गरेर खाता खोल्थे। पाँच दिनमा १० वटा बैंक खाता खोले। तर उनलाई ती खाताको कुनै आवश्यकता थिएन। न उनको ठूलो कारोबार थियो, न त धेरै बैंकमा खाता खोल्नुपर्ने कुनै व्यावसायिक कारण।

GBIME
Tata

उनले चिनजानका रामकुमार मण्डलको आग्रहमा यी खाता खोलेका थिए। त्यसबापत रामकुमारले उनलाई मासिक १० हजार रुपैयाँ दिने प्रस्ताव गरेका थिए। केही नगरी मासिक १० हजार रुपैयाँ आउने भएपछि इब्राहिमले पनि त्यसलाई आम्दानीको सजिलो बाटो ठाने। खाता खोलेपछि सबै विवरण रामकुमारलाई बुझाए। त्यसपछि ती खातामा के कारोबार हुन्छ भन्नेबारे उनले चासो राखेनन्।

तर रामकुमारको उद्देश्य भने अर्कै थियो। गैरकानुनी रूपमा आर्जन गरेको पैसा ती खाताहरूमा जम्मा गर्ने र त्यहाँबाट अर्को खातामा पठाउने काममा उनले इब्राहिमका खाता प्रयोग गर्न थाले। ठूलो रकम एउटै खातामा जम्मा गर्दा शंकास्पद वित्तीय कारोबारको निगरानीमा परिन्छ भन्ने उनलाई थाहा थियो। शंका नहोस् भनेर रकम टुक्र्याएर १० वटा खातामा पठाइन्थ्यो। यसरी रकमको स्रोत र गन्तव्य पहिचान गर्न कठिन बनाइन्थ्यो।

तर ती खाताहरूमा लगातार भइरहेको कारोबार निगरानीबाट चुकेन। अनुसन्धानको घेरामा पर्‍यो। खातावाल थिए इब्राहिम, जो प्रहरी अनुसन्धानको दायरामा आए। उनको बैंक खातामा लाखौँ रुपैयाँको कारोबार देखिएपछि प्रहरीले पक्राउ गर्‍यो। तर खातामा आएको पैसा कहाँबाट आयो र कहाँ पठाइयो भन्नेबारे उनलाई जानकारी थिएन।

उनले त खाता खोलेर सबै विवरण रामकुमारलाई बुझाएका थिए। अनुसन्धान गर्दै जाँदा खातामा प्रयोग भएको मोबाइल नम्बर भास्कर झासँग जोडिएको खुल्यो। रामकुमारले नै उक्त नम्बर भास्करलाई दिएका थिए। अनुसन्धानमा उनीहरूले हुन्डी कारोबारका लागि बैंक खाता र मोबाइल नम्बर प्रयोग गरेको देखियो। अनुसन्धानमा तानिएका सबैसम्म प्रहरी पुग्यो।

यो कुनै एक व्यक्तिमा सीमित घटना होइन। पछिल्लो समय आर्थिक अपराधमा संलग्न गिरोहले प्रहरी अनुसन्धान छल्न अरूका नाममा बैंक खाता खोल्ने, त्यस्ता खातामा रकम जम्मा गर्ने र सानो-सानो हिस्सामा विभाजन गरेर अर्को ठाउँमा पठाउने प्रवृत्ति बढेको छ। प्रहरीले यस्तो सञ्जाललाई ‘मनी म्युल’ नेटवर्कका रूपमा अनुसन्धान गर्ने गरेको छ।

‘रकमको सङ्ख्या सानो बनाउन, आशंका कम गर्ने यसरी अरूको बैंक खाता प्रयोग गरेर पैसा घुमाउने गरेको देखिन्छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले भने।

यस्ता गिरोहले मासिक केही हजार रुपैयाँ दिने प्रलोभनमा सर्वसाधारणलाई खाता खोल्न लगाउने मात्रै होइन, कतिपय अवस्थामा भेटिएका नागरिकता र नक्कली फोटो प्रयोग गरेर समेत खाता खोल्ने गरेका छन्। यसले वास्तविक अपराधीलाई पहिचान गर्न अनुसन्धान जटिल बनाउँछ। अर्कोतर्फ, अपराधबारे कुनै जानकारी नभएका निर्दोष नागरिकसमेत बैंक खाताकै कारण प्रहरी अनुसन्धानमा तानिन्छन्।

फिसिङ, वालेट तथा क्यूआर ठगी, अनलाइन जुवा, अनलाइन सपिङ, केवाईसी अपडेट, लोटरी र क्रिप्टो कारोबारलगायतका नाममा हुने ठगीमा ‘मनी म्युल’ खाता प्रयोग हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। साइबर तथा वित्तीय ठगीका करिब २० हजार उजुरीमा मुद्दा दर्ता हुने गरेका छन्।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढी रकम ठगी भएको उजुरी प्रहरीमा परेको छ। यस्ता ठगीमा विदेशी नागरिक तथा गिरोहको संलग्नता पनि देखिने गरेको छ। उनीहरूले विभिन्न व्यक्तिका नाममा खुलेका खाता प्रयोग गर्दा ठगीको मुख्य योजनाकारसम्म पुग्न प्रहरीलाई कठिन हुने गरेको छ।

अन्य अपराधका घटना घटे पनि आर्थिक तथा वित्तीय अपराध भने निरन्तर बढिरहेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा वित्तीय अपराध ४.५ गुणाले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रहरीले अनुसन्धान गरेका कुल ५८ हजार ४७२ मुद्दामध्ये १६ हजार ५११ अर्थात् २८.२ प्रतिशत वित्तीय अपराधसँग सम्बन्धित थिए। तीमध्ये १३ हजार ८३७ मुद्दा बैंकिङ कसुरका थिए। बैंकिङ कसुरका घटनामा ९९.५ प्रतिशतभन्दा बढी चेक बाउन्ससँग सम्बन्धित रहेको तथ्यांक छ।

अपराधीले प्रयोग गरेको बैंक खाता आफ्नै नाममा नभए पनि त्यसमा भएको कारोबारको जवाफदेहिता भने खातावालामाथि आइपुग्न सक्छ। मासिक केही हजार रुपैयाँको लोभमा आफ्नो बैंक खाता र मोबाइल नम्बर अरूलाई सुम्पिने प्रवृत्तिले सर्वसाधारणलाई समेत अनजानमै आपराधिक सञ्जालको हिस्सा बनाइरहेको छ।

त्यसैले प्रहरीले नागरिकता, बैंक विवरण, मोबाइल नम्बर तथा अन्य व्यक्तिगत गोप्य विवरण कसैलाई नदिन र आफ्नो नाममा खुलेका खाताको कारोबारबारे सचेत रहन आग्रह गर्दै आएको छ।