काठमाडौं। नबिल बैंकले धुलिखेल अस्पतालमा बर्न केयर वार्ड स्थापनामा सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ स्थापनाका लागि सहयोग गरेको हो।
नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको वार्डको मंगलबार उद्घाटन गरिएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरमार्फत नबिल केयरले गर्दै आएको सहयोग थप विस्तार भएको बैंकले प्रेस नोटमार्फत जनाएको छ।
बैंकका अध्यक्ष चौधरीले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको बताए।
‘नबिल बैंकमा हामी कुनै पनि संस्थाको वास्तविक सफलता केवल आर्थिक उपलब्धिले मात्र नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मापन गरिनुपर्छ भन्ने विश्वास राख्छौं। जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्यलाभको यात्रा तय गर्नुपर्ने हुन्छ। सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचार सेवाबाट वञ्चित हुनु हुँदैन। यस सहकार्यमार्फत हामी नेपाली समाजलाई दीर्घकालसम्म लाभ पुर्याउने स्वास्थ्य पूर्वाधारको विकासमा योगदान गरिरहेका छौं,’ उनले भने।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले जलन सम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए।
अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक श्रेष्ठले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।