काठमाडौं। रेल पूर्वाधारलाई नेपाल-भारतको कनेक्टिभिटी विस्तारको प्रमुख आधारका रुपमा अघि बढाइने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तामा भएको सहमति अनुसार रेल पूर्वाधार विस्तार गरिने भएको हो।
बालेन र मोदीले सोमबार नयाँ दिल्लीमा प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षणलाई अन्तिम रुप दिएको घोषणा गरेका थिए।
रक्सौलदेखि काठमाडौं जोड्ने प्रस्तावित रेलमार्ग करिब ११३ किलोमिटर लामो हुने प्रारम्भिक अध्ययनले देखाएको छ। रेलमार्गमा करिब ४० किलोमिटर सुरुङ र विभिन्न स्थानमा ३५ वटा पुल निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रस्तावित रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा प्राविधिक सम्भाव्यता अध्ययन र ट्राफिक सर्वेक्षण भारतको कोकण रेलवे कर्पोरेसनले गरेको थियो।
रक्सौलबाट सुरु हुने रेलमार्ग जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी, साठीखेल हुँदै काठमाडौंको चोभारमा आएर टुंगिनेछ। यो रेलमार्ग ब्रोडगेज प्रणालीमा निर्माण गर्ने प्रस्ताव छ। यसको गेज १ हजार ६७६ मिलिमिटर हुनेछ। रेलमार्गमा ४१ वटा पुल र ४० वटा घुम्ती रहने प्रारम्भिक अध्ययनमा उल्लेख छ। यसको लागत ३ अर्ब डलर अनुमान गरिएको छ।
भौगोलिक बनावटका कारण रेलमार्गको करिब २० प्रतिशत हिस्सा सुरुङ तथा पुलले ओगट्ने अनुमान छ। विशेषगरी पहाडी क्षेत्रमा सुरुङ र पुल निर्माण गर्नुपर्ने भएकाले आयोजनालाई प्राविधिक रुपमा चुनौतीपूर्ण मानिएको छ। रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
बर्दिबास-निजगढ रेलमार्ग फास्ट ट्र्याकमा
निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्गसँग जोड्ने गरी बर्दिबासदेखि निजगढको रतनपुरसम्मको ९९ किलोमिटर लामो रेलमार्गमध्ये २९ किलोमिटरका लागि भारतको सहयोग मागिएको थियो। त्यसमा भारतको सहकार्यमा आयोजना अगाडि बढाउने सहमति भएको छ।
बर्दिबास बजारदेखि चोचासम्म ७० किलोमिटर खण्ड नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिरहेको छ। यो खण्डमा ट्र्याक बेड निर्माणको काम ६८ किलोमिटर पूरा भइसकेको छ। त्यस्तै, १६ वटा रेल पुल निर्माण सम्पन्न भएका छन्।
केही प्याकेजमा भने मुआब्जा विवादका कारण काम प्रभावित भएको छ। विशेषगरी १४ वटा घरको मुआब्जा वितरणमा समस्या देखिएको छ। मन्त्रालयका अधिकारीहरुका अनुसार घर रहेको जग्गाका धनी र घर प्रयोग गर्ने व्यक्ति फरक हुँदा मुआब्जा वितरणमा कठिनाइ भएको हो।
चोचादेखि रतनपुरसम्म २९ किलोमिटर खण्ड अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने चरणमा छ। यही खण्ड निर्माण गर्न नेपाल र भारतले सहकार्य गर्ने भएका हुन्।
त्यस्तै, नेपालमा पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि सहकार्य गर्ने सहमति पनि दुई देशका प्रधानमन्त्रीबीच भएको छ। सरकारी अधिकारीहरुका अनुसार पूर्व-पश्चिम रेलमार्ग विकास गरी नेपाल र भारतबीच एकीकृत तथा अन्तरसञ्चालनयोग्य रेल सञ्जाल निर्माण गर्न सहकार्य गर्ने सहमति भएको हो।
यसका लागि बर्दिबास-निजगढ रेलमार्ग खण्ड र वीरगञ्ज-निजगढ रेल सम्पर्कलाई प्राथमिकतामा राख्ने संयुक्त वक्तव्यमा उल्लेख छ।
भारतसँगको रेल कनेक्टिभिटी विस्तार गर्दै पूर्व-पश्चिम रेल सञ्जाललाई सीमापार रेल सञ्जालसँग जोड्ने उद्देश्यसहित यो सहकार्य अघि बढाउन लागिएको हो।