काठमाडौं। जेनजी आन्दोलनबाट खरानी बनेको भाटभटेनी सुपरस्टोर ६ महिनामै धमाधम निर्माण गरेर संचालनमा आए।
भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले खरानी हटाएर दिनरात नभनी सुपरस्टोर निर्माण गरेर संचालनमा ल्याए। उच्च इच्छाशक्ति भएकै कारण आफूले दुई तीन दशकमा तयार पारेको भाटभटेनी खरानी भएपनि उभ्याउन सफल भए।
उनी यतिसम्म खटेकी हेमोग्लोबिन ४ सम्म घट्दासम्म थाहा पाएनन्। भाटभटेनी तयार गर्दागर्दै सिकिस्त बनेका मीनबहादुर ३८ दिन महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराएर फर्किए। उनी फर्किएको केही समयमै भाटभटेनी धमाधम खुल्ने समय भएको थियो। उनले खरानीबाट उठाएको भाटभटेनीमा केही नयाँ गर्ने योजना बनाए।
त्यही योजना अनुसार भाटभटेनीका केही सुपरस्टोर २४सै घण्टा खोल्ने थियो। योजना अनुसार भक्तपुरको राधेराधेमा रहेको भाटभटेनी सुपर स्टोरको ग्रोसरी २४सै घण्टा संचालनमा पनि आयो। त्यहाँ परीक्षणको रुपमा उद्घाटन गरिएको दिनमा शिक्षामन्त्री सस्मित पोखरेल पनि किनमेलका लागि पुगेका थिए। उनले भाटभटेनी २४सै घण्टा खोल्ने निर्णयबाट कामकाजीलाई सजिलो हुने भन्दै स्वागत पनि गरेका थिए।
भाटभटेनीका लागि त्यहाँ परीक्षणको रुपमा कार्यान्वयनमा ल्याइएको २४सै घण्टाको व्यवस्थाले कारोबार पनि उत्साहजनक थियो। यो परीक्षण सफल भएपछि भाटभटेनी व्यवस्थापनले काठमाडौंमा पनि यही व्यवस्थाको तयारी गर्यो। तयारी अनुसार कर्मचारी पनि तयार पार्यो। रातीको सिफ्टका लागि आवश्यक कर्मचारीदेखि सुरक्षा प्रणालीसम्मका सबै तयारी भयो।
राती खोल्नका लागि आवश्यक सबै तयारी पूरा भएपछि भाटभटेनीले टंगालमा रहेको ग्रोसरी खुल्ला हुने घोषणा समेत गर्यो। यो घोषणा संचारमाध्यममा आउन थाल्यो। राती पनि खुल्ने सूचनासँगै काठमाडौं जिल्ला प्रशासन कार्यालय एक्टिभ भयो।

स्रोतका अनुसार भाटभटेनी राती खोल्ने तयारीलाई लिएर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको सक्रियता देखिएको थियो। उनले जानकारीविना २४सै घण्टा खोल्न लागिएको विषयमा प्रश्न उठाएपछि भाटभटेनी व्यवस्थापनले राती खोल्ने योजनालाई स्थगित गरेको स्रोतले बतायो।
बिहान टंगालमा रहेको भाटभटेनीको ग्रोसरी २४सै घण्टा खोल्ने सूचना एकाएक व्यवस्थापनले अपरान्हमा स्थगितको टेक्स्ट पठायो। भाटभटेनीले भनेको थियो – ‘केही प्राविधिक कारणवश’ अर्को सूचना जारी नभएसम्मका लागि योजना स्थगित गरिएको छ।’
‘हामी हाम्रा ग्राहकको अपेक्षा र विश्वासलाई सधैं उच्च प्राथमिकतामा राख्छौं। ग्राहकलाई निराश हुन नदिई आवश्यक तयारी पूरा गरेर छिट्टै नै २४ घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गर्नेछौं,’ भाटभटेनीले पठाएको सूचनामा भनिएको थियो। भाटभटेनीको टेक्स्ट आएको केही समयमै काठमाडौं जिल्ला प्रशासनले काठमाडौंका सबै क्षेत्रमा व्यापार, व्यवसाय तथा बजार चौबिसै घण्टा सञ्चालन गर्न स्थानीय प्रशासनले रोक लगाएको सूचना पठाएको थियो।
आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्था सुनिश्चित नभएसम्म भन्दै रोक लगाएको जिकिर गरेको थियो। हाल चौबिसै घण्टा खुला रहेका दरबारमार्ग र ठमेलबाहेक अन्य क्षेत्र तत्काल खुला नहुने पनि जनाइएको छ।
‘समग्र काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न भरपर्दो सुरक्षा प्रबन्धसँगै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीलगायतका पूर्वाधारमा काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको थियो। यो सूचनापछि गृहमन्त्री सुधन गुरुङलाई भाटभटेनी सुपरस्टोर २४सै घण्टा रोक्ने निर्णयका बारेमा सोधखोज भएको थियो। दुबईमा रहेका गुरुङले आफूलाई जानकारी नभएको जवाफ दिएका थिए।
भाटभटेनीको इनिसिएसन रोक्नेबारेमा गृह पनि पूर्ण जानकार रहेको देखिँदैन। ‘यो सूचनाका बारेमा गृहमन्त्रीलाई पनि जानकारी छैन। गृहमन्त्रालय पनि खासै परामर्श भएको देखिँदैन,’ गृहकै एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘भक्तपुरजस्तो ठाउँमा २४सै घण्टा खोल्दा समस्या नहुने तर काठमाडौंमा हुने किन रहेछ भन्ने विषय उठिरहेको छ।’
एक व्यवसायीका अनुसार अहिलेपनि सरकार कर्मचारीले आफूखुशी चलाइरहेको यही प्रकरणबाट स्पष्ट हुन्छ। ‘देशलाई चलायमान बनाउनका लागि हामीले विदेश हेरेर पनि व्यवसायलाई खोल्दै जानुपर्ने हो। तर, यहाँ पुरातनवादी सोच राखेर रोक्ने काम मात्रै भइरहेको छ,’ उनले भने, ‘सरकारमा युवापुस्ता आए भनेर मात्रै हुँदैन। यस्ता विषयमा हस्तक्षेप गर्न सकिएन भने अर्थतन्त्र चलायमान हुँदैन।’