BIZMANDU
www.bizmandu.com

कम्पास ग्रुपको प्राथमिक सेयर सूचीकरण अमेरिका सार्ने योजनाले लण्डनमा तरंग

२०८३ मंसिर ८

कम्पास ग्रुपको प्राथमिक सेयर सूचीकरण अमेरिका सार्ने योजनाले लण्डनमा तरंग
कम्पास ग्रुपको प्राथमिक सेयर सूचीकरण अमेरिका सार्ने योजनाले लण्डनमा तरंग

लण्डन स्टक एक्सचेन्जमा सूचीकृत बेलायतको ठूलो कम्पनी कम्पास ग्रुपले आफ्नो सेयरको मुख्य कारोबार हुने बजार लण्डनबाट अमेरिकाको न्युयोर्कमा सार्ने तयारी गरेको छ। कम्पनीले सेयरधनीसँग यसबारे परामर्श थालेपछि बेलायतको पुँजी बजारमा बहससँगै चिन्ताको लहर सुरु भएको छ।

GBIME
Tata

कम्पास खाना तथा खानपानसम्बन्धी सेवा उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनी हो। उसले लण्डनको सूचीकरण भने पूर्ण रूपमा हटाउन खोजेको भने होइन, अमेरिकामा मुख्य सूचीकरण राखेर बेलायतमा दोस्रो सूचीकरण कायम गर्ने योजना बनाएको हो। तर, उसको योजनाको खबर बाहिरिँदा बेलायती सेयर लगानीकर्तामाझ तरंग आएको छ।

बेलायतको सरेमा मुख्यालय रहेको कम्पास ग्रुपले विश्वका विभिन्न देशमा कम्पनी, अस्पताल, विद्यालय, खेलकुदस्थल, विमानस्थल तथा रक्षा क्षेत्रलाई खाना र सहायक सेवा उपलब्ध गराउँछ। गुगल, अमेजन र माइक्रोसफ्टजस्ता बहुराष्ट्रिय कम्पनी यसका ग्राहक हुन्। कम्पनीको व्यवसाय विशेषगरी उत्तर अमेरिकी बजारमा केन्द्रित छ।

कम्पासले सन् २०२६ सेप्टेम्बरमा समाप्त आर्थिक वर्षमा ५० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ। कम्पनीका विश्वभर २५ भन्दा बढी देशमा ६ लाखभन्दा बढी कर्मचारी छन्। कम्पनीको कुल सञ्चालन नाफाको ७५ प्रतिशत उत्तर अमेरिकी बजारबाट आउँछ। त्यहाँ मात्रै उसका करिब ३ लाख २५ हजार कर्मचारी कार्यरत छन्।

कम्पासका अध्यक्ष इयान मिकिन्सले उत्तर अमेरिका पछिल्लो दशकमा कम्पनीको वृद्धिको प्रमुख आधार बनेको बताएका छन्। उनका अनुसार कम्पनीको व्यवसाय विस्तारसँगै त्यसको आर्थिक केन्द्र पनि उत्तर अमेरिकातर्फ सरेको छ। त्यसैले पुँजी बजारमा कम्पनीको उपस्थिति पनि व्यवसायको भौगोलिक संरचनासँग मिलाउन खोजिएको हो। अमेरिकाको ठूलो र गहिरो पुँजी बजारबाट लगानी जुटाउने अवसर विस्तार गर्नु पनि प्रस्तावको उद्देश्य रहेको उनले बताएका छन्।

कम्पनीले नोभेम्बर २४ मा सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्षमा जैविक आम्दानी वृद्धि ७.५ प्रतिशत र समायोजित सञ्चालन नाफा ३ अर्ब ७५ करोड डलर पुगेको छ। यो विश्लेषकहरूको अनुमानभन्दा बढी हो।

कम्पासको निर्णयले लण्डनको पुँजी बजारमा चिन्ता बढ्नुको कारण ठूला कम्पनीले अमेरिकी बजार रोज्ने क्रम हो। यसअघि सीआरएच, फ्लटर इन्टरटेनमेन्ट र वाइजजस्ता कम्पनीले पनि प्राथमिक सूचीकरण अमेरिकामा सारेका छन्। अमेरिकी बजारमा तुलनात्मक रूपमा उच्च मूल्यांकन र ठूलो लगानीकर्ता आधार उपलब्ध हुने अपेक्षाले कम्पनीहरू आकर्षित भएका छन्।

यद्यपि कम्पासले लण्डनको सूचीकरण पूर्ण रूपमा हटाउन लागेको होइन। सेयरधनीको समर्थन र औपचारिक स्वीकृति पाए मात्रै सन् २०२८ मा प्राथमिक सूचीकरण स्थानान्तरण हुनेछ। कम्पनीले बेलायतमा लगानी, कर्मचारी र व्यावसायिक प्रतिबद्धता यथावत् रहने पनि स्पष्ट पारेको छ।

यसबीच, सूचीकरण स्थानान्तरणको प्रस्ताव सार्वजनिक भएकै दिन कम्पनीको वार्षिक नतिजापछि लण्डनमा सेयर मूल्य करिब ४ प्रतिशत बढेको थियो।