BIZMANDU
www.bizmandu.com

अयोध्याका चार सय तीर्थालुलाई जनकपुरमा स्वागत, जानकी मन्दिरमा दर्शनको विशेष व्यवस्था

२०८३ मंसिर ८

अयोध्याका चार सय तीर्थालुलाई जनकपुरमा स्वागत, जानकी मन्दिरमा दर्शनको विशेष व्यवस्था
रेल यात्रुका यात्रुहरुलाई स्वागत जनकपुर, ८ मङ्सिरः जनकपुरको रेल स्टेसनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार उद्घाटन गर्नुभएको रेल यात्रुलाई मङ्गलबारजनकपुरधाममा आइपुगेपछि यात्रुहरुलाई स्वागत गर्नुहुँदैै उपमहानगरपालिकाको नगरप्रमुख मनोजकुमार साहले । तस्बिरः चन्दन ठाकुर÷रासस

जनकपुरधाम। अयोध्याबाट सुरु भएको सरयू–कमला एक्सप्रेस रेलमा जनकपुरधाम आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई भव्य स्वागत गरिएको छ। नेपाल रेल्वे कम्पनीद्वारा जनकपुरधाम रेल्वे स्टेसनमा आयोजित कार्यक्रममा तीर्थयात्रीलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गरेका हुन्।

GBIME
Tata

जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले रेल सेवा सञ्चालनमा ल्याइएको हो। उक्त रुटको रेल सेवाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। त्यही रेलमा यात्रुहरु मंगलबार जनकपुर आइपुगेका हुन्।

श्रममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण माध्यम भएको बताए। नेपाल–भारतबीचको यस रेल सेवामार्फत धार्मिक पर्यटन प्रर्वद्धन तथा व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे। जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सरयू–कमला एक्सप्रेसले दुई देशका नागरिकबीचको आत्मीयतालाई थप मजबुत बनाउने बताए।

उनले भने, ‘अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको सम्बन्ध मात्र होइन, यो बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा, आस्था र आत्मीयताको सम्बन्ध हो।’ विवाहपञ्चमी महोत्सव नजिक आइरहेको अवस्थामा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनलाई रेल सेवाले आवागमनमा सहजता प्रदान गर्ने उनले बताए। रेल सेवा सुरु हुनुले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रर्वद्धन साथै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, होमस्टे तथा साना व्यवसायको विकासमा समेत टेवा पुग्ने पनि भनाइ राखे।

अयोध्याबाट जनकपुरसम्म साप्ताहिक रेल सेवाको मंगलबार शुभारम्भका क्रममा जनकपुर रेल्वे स्टेसनमा आइपुगेको ‘सरयु कमला एक्सप्रेस’ को रेल। तस्बिरः रासस

मधेस प्रदेशका मुख्यमन्त्री यादवले अयोध्या–जनकपुर रेल सम्पर्क विस्तारले दुई देशबीचको यातायात सहकार्य, धार्मिक पर्यटन र आर्थिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे। रेल सेवा सञ्चालन गर्न भएको ऐतिहासिक पहलका लागि दुवै देशका प्रधानमन्त्री तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरे। नेपाल र भारतबीचको सम्बन्धलाई व्यवहारमा सहज बनाउन सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा उनले जोड दिए।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भगवान् श्रीराम र माता सीताको वैवाहिक सम्बन्धले जोडिएका दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्ने पहल दुवै देशका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए। विश्व हिन्दू परिषद् नेपालका प्रदेश संगठन सचिव जंगबहादुर सिंहले रेल सेवाले धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा दुवै देशलाई लाभ पुर्‍याउनुका साथै नागरिकबीचको आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस नाम दिइएको उक्त रेल १७ वटा डब्बासहित मंगलबार बिहान ९:१५ बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको हो। रेलमा सवार भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा तीर्थयात्रीलाई खादामाला लगाएर स्वागत तथा सम्मान गरिएको थियो।

तीर्थयात्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। उनीहरूका लागि जानकी मन्दिरलगायत धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको छ। स्वागत तथा सम्मान र धार्मिकस्थलको दर्शनपछि तीर्थयात्रीलाई आजै पुनः बिदाइ गरिने प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए।

आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तार भएपछि सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको थियो। त्यसको एक वर्षपछि कुर्थाबाट भङ्गहा–बिजलपुरासम्म सेवा विस्तार गरिएको थियो। रासस