BIZMANDU
www.bizmandu.com

भोटेकोशी करिडोरका जलविद्युत आयोजना पुनर्निर्माणमा सरकारी ढिलासुस्तीले अन्योल, प्रवर्धक निराश

२०८३ मंसिर ८

भोटेकोशी करिडोरका जलविद्युत आयोजना पुनर्निर्माणमा सरकारी ढिलासुस्तीले अन्योल, प्रवर्धक निराश
भोटेकोशी करिडोरका जलविद्युत आयोजना पुनर्निर्माणमा सरकारी ढिलासुस्तीले अन्योल, प्रवर्धक निराश

काठमाडौं। बाढीले क्षतिग्रस्त भोटेकोशी-त्रिशूली करिडोरका जलविद्युत आयोजनाको पुनर्निर्माण नीतिगत झन्झट र सरकारी निकायको ढिलासुस्तीका कारण अन्योलमा परेको छ।

GBIME
Tata

बाढीले क्षति पुर्‍याएको ३ महिना बित्न लाग्दा पनि आयोजना पुनर्निर्माणमा सरकारले कुनै पनि काम नगरिदिएपछि अन्योल उत्पन्न भएको हो।

भोटेकोशी-त्रिशूली करिडोर क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन १३ वटा ऊर्जा आयोजनाको संरचना गत भदौ १० गतेको विनाशकारी बाढीले बगाएर नामनिसान मेटिएकामा पुनर्निर्माणका लागि आवश्यक नीतिगत तथा वित्तीय सहजीकरणमा सरकारले उदासीनता देखाएको छ।

क्षतिग्रस्त आयोजनाहरुको पुनर्निर्माण अघि बढाउन प्रवर्धकहरूले सम्बन्धित सरकारी निकायलाई अनुनय विनय गर्दै आए पनि ठोस निर्णय हुन सकेको छैन।

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाका प्रवर्धक विजयमोहन भट्टराईका अनुसार पुनर्निर्माणका लागि आवश्यक नीतिगत व्यवस्थादेखि साइट मोबिलाइजेसनसम्मका काममा ढिलाइ भएको छ। ‘हामीले सबै निकायलाई पुनर्निर्माणका लागि आवश्यक पर्ने नीतिगतदेखि अरु काम गरिदिन आग्रह गरिसकेका छौं। तर, केही पनि भएको छैन। सबै काममा डिले भएको छ,’ उनले भने।

भट्टराईका अनुसार सरकारले निर्णय गर्न ढिला गर्दा पुनर्निर्माण झन् कठिन र असम्भव बन्नेछ। प्रवर्धकहरूले सरकारसँग आफूहरुले कुनै आर्थिक सहायता वा क्षतिपूर्ति नमागेको स्पष्ट पार्दै आयोजनालाई ‘भायबल’ बनाउने नीतिगत वातावरण मात्र खोजेको बताएका छन्।

‘आयोजना बनाउन जति ढिला गर्छौं, त्यति नै पुनर्निर्माण सम्भव हुँदैन। हामीले सरकारसँग पैसा मागेका होइनौं, क्षतिपूर्ति मागेका छैनौं,’ भट्टराईले भने, ‘मात्र आयोजनालाई आर्थिक हिसाबले भायबल बनाउनका लागि पोलिसी बनाइदिनुपर्‍यो, साइट मोबिलाइज गर्नका लागि वातावरण बनाइदिनुपर्‍यो भनेका हौं।’

default

लाइसेन्स र कर्जाको अवधि थप गर्न माग

प्रवर्धकहरुका अनुसार यसअघि जारी गरिएको लाइसेन्स अवधिका आधारमा नयाँ लगानी वा पुनर्निर्माण गर्न आर्थिक दृष्टिले व्यावहारिक हुँदैन। आयोजना पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्ने भएकाले बाँकी लाइसेन्स अवधि छोटो हुने र लगानी सुरक्षित नहुने उनीहरुको भनाइ छ।

‘मैले आयोजना आज बनाउन सुरु गरें भने पनि कम्तीमा २ वर्ष लाग्छ। मेरो आयोजनाको लाइसेन्स अवधि अब २५ वर्ष मात्र बाँकी छ। यसले गर्दा पुनर्निर्माण गर्न भायबल छैन। अहिलेको विद्युत ऐनअनुसार ५० वर्षको लाइसेन्स दिनुपर्‍यो। सरकारले लाइसेन्स अवधि थप गरेको अवस्थामा मात्र हामीले पुनर्निर्माणका लागि हिम्मत गर्न सक्छौं,’ भट्टराईले भने।

बाढीमा परेका आयोजनाको वित्तीय भार कम गर्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको अवधि बढाउनुपर्ने पनि प्रवर्धकहरूको माग छ। यसका साथै रिफाइनान्सका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिससहितको पत्र पठाउनुपर्नेमा त्यसमा ढिलाइ भएको छ।

भोटेकोशी करिडोरका आयोजना मात्र नभई त्रिशूली जलविद्युत आयोजनाको विषयमा पनि सरकारी निर्णय प्रक्रिया सुस्त देखिएको छ। त्रिशूली जलविद्युत आयोजनाले क्षमता वृद्धिका लागि आवेदन दिएकामा हालसम्म कुनै निर्णय हुन सकेको छैन।

बाढीबाट १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला, ५ मेगावाटको मैलुङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, २२ मेगावाटको चिलिमे, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’, २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट र १५.६ मेगावाटको मिडल त्रिशूली आयोजनामा क्षति पुगेको छ।

आयोजनामा पुग्न छैन बाटो

नेपाल विद्युत प्राधिकरणले आफ्ना आयोजनामा थुप्रिएको डेब्रिज हटाउने प्रक्रिया अगाडि बढाउन खोजेकामा सरकारले बाटो नबनाइ दिँदा आयोजनासम्म पुग्नै कठिनाइ भएको छ।

प्राधिकरणका उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार आयोजनामा पुग्न ५ वटा बेलिब्रिज बनाउनु पर्ने देखिएको छ।

‘हामीले डेब्रिज हटाउनका लागि टेण्डर आह्वान गरेका छौं। तर सरकारले बाटो नबनाइदिएको खण्डमा काम गर्न सक्ने अवस्था छैन। हामी आफैं बाटो बनाउनका लागि पैसा हाल्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘हामीले टेण्डर गर्दा बाटोलाई समेटेका छैनौं। आयोजनामा पुग्न ५ वटा बेलिब्रिज पनि बनाउनु पर्नेछ। त्यो नभएको खण्डमा डेब्रिज हटाउने सामान आयोजनामा लान नै सकिंदैन।’