BIZMANDU
www.bizmandu.com

मोटोपन घटाउने औषधिले बदल्दैछ विश्व बजार, २०२७ मा ‘ओजेम्पिक इकोनोमी’ किन बन्दैछ ठूलो व्यापार?

२०८३ मंसिर ८

मोटोपन घटाउने औषधिले बदल्दैछ विश्व बजार, २०२७ मा ‘ओजेम्पिक इकोनोमी’ किन बन्दैछ ठूलो व्यापार?
मोटोपन घटाउने औषधिले बदल्दैछ विश्व बजार, २०२७ मा ‘ओजेम्पिक इकोनोमी’ किन बन्दैछ ठूलो व्यापार?

काठमाडौं । पछिल्लो समय विश्वभर बढिरहेको व्यवसायिक क्षेत्र हो – मोटोपन घटाउन प्रयोग हुने औषधि उद्योग। ओजेम्पिक, वेगोभी, माउनजारो र जेपबाउन्डजस्ता औषधिको माग अहिले विश्व बजारमा बढ्दो छ। र, यसको प्रयोगले उपभोक्ताको खानपान, कपडा, सौन्दर्यप्रतिको रुचि र घुमफिर गर्ने शैलीमा परिवर्तन ल्याउन थालेको छ।

GBIME
Tata

मधुमेहको उपचार तथा मोटोपन व्यवस्थापनमा प्रयोग हुने यी औषधि जीएलपी-१ समूहअन्तर्गत पर्छन्। यिनले भोक कम गर्ने, पेट भरिएको अनुभूति लामो समयसम्म कायम राख्ने र खानाको मात्रा घटाउन सहयोग गर्ने गरेको द इकोनोमिस्टमा उल्लेख छ।

अमेरिकामा मात्रै करिब १५ प्रतिशत मानिसले यस्ता औषधि प्रयोग गरिरहेको अनुमान छ। सन् २०२४ मा यो संख्या मात्र ६ प्रतिशत रहेको बताइन्छ। अर्थात्, दुई वर्षको अवधिमा यसको प्रयोग उल्लेख्य रूपमा बढेको छ।

यो प्रवृत्ति अमेरिकामा मात्र सीमित छैन। विश्व बजारमा पनि यस्ता औषधिको व्यापार तीव्र गतिमा विस्तार हुने अनुमान छ। हेर्नुस् भिडियो


मोर्गन स्ट्यान्लीका अनुसार सन् २०३५ सम्म विश्वव्यापी जीएलपी–१ औषधिको बिक्री दोब्बर भएर १९० अर्ब अमेरिकी डलर पुग्न सक्छ।

तर, यसको प्रभाव औषधि बिक्रीमा मात्र सीमित रहने छैन। सन् २०२७ मा यसले उपभोक्ता बजारका विभिन्न क्षेत्रमा नयाँ व्यापारिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

ओजेम्पिक इकोनोमी

ओजेम्पिक इकोनोमी भन्नाले तौल घटाउने औषधिको बढ्दो प्रयोगका कारण उपभोक्ताको व्यवहारमा आउने परिवर्तनबाट सिर्जना हुने नयाँ आर्थिक गतिविधि र व्यापारिक अवसर हो।

पहिले मानिसको खर्चको ठूलो हिस्सा खानपान र खाद्य सामग्रीमा हुन्थ्यो। जीएलपी–१ औषधि प्रयोग गरेर खानाको मात्रा घटाउने मानिसले किराना तथा रेस्टुरेन्टमा गर्ने खर्च घटाउन सक्छन्। तर, उनीहरूले बचत भएको पैसा अन्य क्षेत्रमा खर्च गर्न थाल्छन्। बोस्टन कन्सल्टिङ ग्रुपको विश्लेषणअनुसार जीएलपी–१ प्रयोगकर्ताले किराना सामानमा बचत गरेको पैसाको करिब एकतिहाइ अन्य वस्तु तथा सेवामा खर्च गर्छन्।

यसले एउटा नयाँ उपभोक्ता वर्ग जन्माइरहेको विश्लेषकहरु बताउँछन्। जसलाई लक्षित गरेर विभिन्न उद्योगले आफ्नो उत्पादन र बजार रणनीति परिवर्तन गर्न थालेका छन्।

ओजेम्पिक इकोनोमीबाट लाभ लिन सक्ने पाँच प्रमुख क्षेत्रमा फेसन तथा कपडा उद्योग, ब्युटी एन्ड स्किनकेयर, फिटनेस तथा स्वास्थ्य उद्योग, पर्यटन तथा हस्पिटालिटी क्षेत्र र खुद्रा व्यापार तथा खाद्य उद्योग हुन्।

अमेरिकन सोसाइटी अफ प्लास्टिक सर्जन्सका अनुसार सन् २०२५ मा ८० प्रतिशतभन्दा बढी अमेरिकी प्लास्टिक सर्जनले जीएलपी–१ औषधिसँग सम्बन्धित सौन्दर्य उपचारका लागि अनुरोध प्राप्त गरेका थिए। सन् २०२४ को तुलनामा अनुहारमा ‘फ्याट’ प्रत्यारोपण गर्ने प्रक्रिया ३९ प्रतिशत बढेको थियो। शरीरका विभिन्न भागमा गरिने लिफ्टिङ प्रक्रिया पनि ८ देखि २९ प्रतिशतसम्म बढेका थिए।

ओजेम्पिक इकोनोमीका नकारात्मक पक्ष पनि छन्। यो बजार व्यवसायका लागि अवसर भए पनि यसका चुनौती र नकारात्मक प्रभाव पनि उत्तिकै रहेको विश्लेषकहरु बताउँछन्।

तौल घटाउने मानिसले एउटै कपडाको विभिन्न साइज किन्ने र नमिलेपछि फिर्ता गर्ने सम्भावना हुन्छ। यसले खुद्रा व्यवसायको नाफामा असर पार्न सक्ने भनिएको छ। त्यस्तै, जंक फुड उद्योग प्रभावित हुन सक्ने अनुमान पनि गरिएको छ। यसले परम्परागत खाद्य उत्पादकलाई आफ्नो उत्पादन रणनीति बदल्न बाध्य पार्न सक्ने भनिएको छ।

तौल घटेपछि पनि शरीरको आकार, अनुहारको बनावट र बाहिरी स्वरूपप्रति असन्तुष्टि बढ्न सक्छ। यसले अनावश्यक कस्मेटिक उपचार र सामाजिक सौन्दर्य दबाबलाई प्रोत्साहन गर्न सक्ने चेतावनी विश्लेषकहरुको छ।

त्यस्तै, सबै मानिसले यस्ता औषधि किन्न सक्दैनन्। उच्च मूल्य, बीमाको सीमित सुविधा र स्वास्थ्य सेवामा असमान पहुँचले यसको लाभ सबै उपभोक्तासम्म नपुग्ने अवस्था सिर्जना गर्न सक्ने भनिएको छ।

र, अर्को महत्वपूर्ण असर भनेको यसको स्वास्थ्यसम्बन्धी जोखिम। यो औषधि सबैका लागि उपयुक्त हुँदैनन्। यसले वाकवाकी, बान्ता, पखाला जस्ता असर देखिन सक्छन्। तीव्र तौल घट्दा मांसपेशीसमेत घट्न सक्ने देखिएको छ। त्यसैले चिकित्सकको सल्लाह र निगरानीबिना यस्ता औषधि प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ।

नेपालमा पनि पछिल्लो समय यस्ता औषधिहरुको प्रयोगबारे सुनिने गरिएको छ। तर, चिकित्सकको सल्लाह बिना यसको प्रयोग खतरनाक हुन सक्छ।

सन् २०२७ मा किन यो ठूलो व्यापार बन्न सक्छ? हेर्नुस् भिडियो एक्सप्लेनर