BIZMANDU
www.bizmandu.com

सरकारको नजरमा बालेनको भ्रमणमा धेरै ब्रेकथ्रु, शिशिरले भने- अहिलेसम्मकै ठूलो उपलब्धि

२०८३ मंसिर ७

सरकारको नजरमा बालेनको भ्रमणमा धेरै ब्रेकथ्रु, शिशिरले भने- अहिलेसम्मकै ठूलो उपलब्धि
सरकारको नजरमा बालेनको भ्रमणमा धेरै ब्रेकथ्रु, शिशिरले भने- अहिलेसम्मकै ठूलो उपलब्धि

काठमाडौं। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण फलदायी भएको बताएको छ।

GBIME
Tata

परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार साँझ त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा पत्रकारहरुसामु दुई देशको सम्बन्धलाई परिणाममुखी साझेदारीमा रुपान्तरण गर्न भ्रमण फलदायी भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशको सम्बन्ध लामो समयपछि सकारात्मक लयमा फर्किएको बताए।

‘जनस्तरको सम्बन्धलाई थप मजबुत बनाइ दुवै मुलुकका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो। यो भ्रमणले लामो समयपछि नेपाल भारत सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ उनले भने।

खनालले बालेन र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई देशका सबै पक्षमा घनीभूत छलफल भएको बताए। ‘दुई प्रधानमन्त्रीले दुई देशका सबै पक्षमा घनीभूत एवं सार्थक छलफल गर्नुभयो। उहाँहरुबीच दुई देशको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने फलदायी छलफल तथा विचार आदानप्रदान भयो,’ उनले भने, ‘कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा आर्थिक साझेदारी, खेलकुद लगायत विषयमा ठोस छलफल भयो।’

प्रधानमन्त्री बालेनलाई स्वागत गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

उनले भ्रमणबाट भारतसँगका सन्धि सम्झौता परिमार्जनको बाटो खुलेको बताए। ‘सन्धि सम्झौता परिमार्जनको बाटो खुलेको छ। नेपाल भारत सम्बन्धलाई समयसापेक्ष बनाउनका लागि पुराना सन्धि पुनरवलोकन गर्न हामीले स्पेस बनाएका छौं,’ उनले भने।

भारतमा रहँदा बालेनले सोमबार बिहान समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। बालेनसँगको वार्तापछि मोदीले नेपाललाई २ खर्ब २४ अर्ब रुपैयाँ सहयोगको घोषणा गरेका छन्। त्यसमध्ये ५६ अर्ब रुपैयाँ भोटेकोशी बाढीले भएको क्षतिको पुनर्निर्माणका लागि अनुदान हो भने १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण हो। ऋण रकम ऊर्जा क्षेत्रमा खर्च गर्ने भनिएको छ।

मन्त्री खनालले भारतले दिने सहयोग अहिलेसम्मकै ठूलो भएको भन्दै यसलाई पनि उपलब्धि भनेका छन्। ‘२ खर्ब ४० अर्ब सहयोगको प्याकेज आजसम्म घोषणा भएको थिएन। यसले पनि नयाँ आयाम कायम गरेको छ,’ उनले भने।

उनले कनेक्टिभिटीको क्षेत्रमा विशेष उपलब्धि हासिल भएको बताए। बालेन र मोदीबीच नेपाललाई भारतले दिनदयाल र पारादीप बन्दरगाह प्रयोग गर्न दिने सहमति भएको थियो। शिशिरले यसलाई ब्रेकथ्रु भनेका छन्।

शिशिर खनाल। तस्वीर : सुशील श्रेष्ठ

‘कनेक्टिभिटीको क्षेत्रमा विशेष उपलब्धि हासिल भएको छ। रेल पारवहनको क्षेत्रमा ब्रेकथ्रु गरेर आएका छौं। नेपालले लामो समयदेखि उठाइ रहेको थप हवाई रुटको विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफलपछि ऐतिहासिक ब्रेकथ्रु भएको छ,’ उनले भने, ‘व्यापार सहजीकरण गर्न सीमापार सम्पर्क बढाउने सहमति भएको छ। तेस्रो मुलुकसँगको व्यापारका लागि दिनदयाल र पारादीप बन्दरगाह प्रयोग गर्ने सहमति भएको छ। हामीले लामो समयदेखि पोर्टको विषय उठाइरहेका थियौं। आज ब्रेक थ्रु भएको छ। यसबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार थप सहज हुनुका साथै नेपाली व्यवसायीका लागि नयाँ अवसर सिर्जना हुने र दुई देशको आर्थिक सम्बन्ध थप मजबुत हुने विश्वास छ।’

बालेनको भ्रमणका क्रममा विभिन्न ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएकामा दुई देशले २४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। बालेन ३५ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँ दिल्ली गएकामा २५ घण्टा बिताएर सोमबार साँझ फर्किएका छन्।