BIZMANDU
www.bizmandu.com

बालेन र मोदीले शिलान्यास गरेको तल्लो अरुणमा एसजेभीएनले जुटाएको छैन लगानी

२०८३ मंसिर ७

बालेन र मोदीले शिलान्यास गरेको तल्लो अरुणमा एसजेभीएनले जुटाएको छैन लगानी
बालेन र मोदीले शिलान्यास गरेको तल्लो अरुणमा एसजेभीएनले जुटाएको छैन लगानी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार भर्चुअल रुपमा शिलान्यास गरेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनामा वित्तीय व्यवस्था गर्न नै बाँकी छ।

GBIME
Tata

आयोजना निर्माणका लागि ९२ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ लागत अनुमान गरिएकामा भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन)ले रकम जुटाउन बाँकी रहेको हो।

‘आयोजना बनाउन ९२ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ खर्च हुने अनुमान रहेकामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी गर्ने भनिएको छ,’ लगानी बोर्डका एक कर्मचारीले भने, ‘अहिलेसम्म फाइनान्सियल क्लोजर भइसकेको छैन।’

एसजेभीएनले निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा यो आयोजना निर्माण गर्दैछ। यो कम्पनीले हाल ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। सोही आयोजनाबाट निस्कने पानीलाई एसभेजीएनले तल्लो अरुणको बाँध क्षेत्रमा पुर्‍याएर ‘क्यास्केड’ परियोजनाका रूपमा विकास गर्न लागेको हो।

यो आयोजनाबाट उत्पादित कुल विद्युत्‌मध्ये २१.९ प्रतिशत नेपालले निःशुल्क पाउनेछ। बाँकी बिजुलीको बजार एसजेभीएन आफैंले खोज्नेछ।

‘आयोजनाको पीपीए भएको छैन। हामीलाई २१ प्रतिशत बिजुली नि:शुल्क दिने र बाँकी बजार आफैंले खोज्ने सम्झौता छ,’ ती कर्मचारीले भने, ‘आयोजना निर्यात केन्द्रित भएकाले पीपीए नगर्दा खासै फरक पर्दैन।’

एसजेभिएनले बोलपत्रमार्फत यो आयोजना हात पारेको हो। कम्पनीले २०७९ जेठ १७ गते विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेस गरेकामा लगानी बोर्डको २०७९ साउन २३ गतेको बैठकले स्वीकृत गरेको थियो। कम्पनी र बोर्डबीच परियोजना विकास सम्झौता भने २०८० जेठ तेस्रो साता भएको थियो।