BIZMANDU
www.bizmandu.com

नेपाली विद्यार्थीका लागि भारतमा विज्ञान र प्रविधिसम्बन्धी छात्रवृत्तिका अवसर बढाउनेछौँ : मोदी

२०८३ मंसिर ७

नेपाली विद्यार्थीका लागि भारतमा विज्ञान र प्रविधिसम्बन्धी छात्रवृत्तिका अवसर बढाउनेछौँ : मोदी
नेपाली विद्यार्थीका लागि भारतमा विज्ञान र प्रविधिसम्बन्धी छात्रवृत्तिका अवसर बढाउनेछौँ : मोदी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको शैक्षिक, कृषि, खेलकुद तथा सांस्कृतिक सहकार्यलाई थप विस्तार गर्ने घोषणा गरेका छन्।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन्। उनले नेपाली विद्यार्थीका लागि भारतमा विज्ञान र प्रविधिसम्बन्धी छात्रवृत्तिका अवसर बढाउने प्रतिबद्धता जनाएका छन्।

मोदीले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण र औद्योगिक विकासमा भारतले सहयोग गर्ने बताए। विशेषगरी खाद्य प्रशोधन तथा कृषि उपजको मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि औद्योगिक पार्क विकास गर्न भारतले सहकार्य गर्ने उनको भनाइ छ।

उनले खेलकुद क्षेत्रको विकासमा पनि भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाए। विशेषगरी क्रिकेटको पूर्वाधार विकास र नेपाली खेलाडीको प्रशिक्षणमा सहकार्य बढाइने उनले बताए।

मोदीले भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई नयाँ पुस्तामाझ पुर्‍याउन दुवै देशका युवाले मिलेर काम गर्नुपर्नेमा जोड दिए। रामायणको कथा चलचित्र र आधुनिक प्रविधिमार्फत नयाँ पुस्ता तथा विश्वभरका दर्शकमाझ पुगिरहेको उनले उल्लेख गरे।

भारत र नेपालका युवा सिर्जनाकर्मीले साझा सांस्कृतिक विरासतलाई आधुनिक माध्यमबाट विश्वसामु प्रस्तुत गर्न सक्ने उनको विश्वास छ। यसै उद्देश्यले आगामी ‘वेभ समिट’मा नेपालबाट ठूलो प्रतिनिधिमण्डलको स्वागत गर्न भारत इच्छुक रहेको उनले बताए।

मोदीले भारत र नेपालले साझा भविष्य निर्माणका लागि नयाँ दिशा तय गरेको पनि उल्लेख गरे। यसै क्रममा दुवै देशले ‘संयुक्त दृष्टिकोण दस्तावेज’ जारी गरेको उनले जानकारी दिए।

उनका अनुसार उक्त दस्तावेज विकसित भारत र समुन्नत नेपालको साझा संकल्प साकार पार्ने खाका हो। दुवै देशसँग स्पष्ट लक्ष्य, आपसी विश्वास र ती लक्ष्य हासिल गर्ने क्षमता रहेको मोदीको भनाइ थियो।

उनले भारत र नेपालबीचको सहकार्यलाई आगामी दिनमा थप परिणाममुखी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।