काठमाडौं । चितवन को-इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा संचालित मनकामना केबलकार २९औं वर्षमा प्रवेश गरेको छ।
२८औं वर्षको अवधिमा हालसम्म २ करोड १२ लाख भन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ।
स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको कम्पनीले जनाएको छ।
कम्पनीले संस्थापक श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीलाई उचाइसम्म पुर्याउन अहोरात्र खटिएका सबै कर्मचारीहरूको निष्ठा र समर्पणप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।
त्यसैगरी, पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रका सम्पूर्ण साझेदारहरूप्रति उनीहरूको सराहनीय साथ र सहयोगका लागि पनि कम्पनीले धन्यवाद व्यक्त गरेको छ।
कम्पनीले सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति निरन्तर साथ र सहयोगका लागि पनि कृतज्ञता व्यक्त गरेको छ।