विराटनगर । कोशी प्रदेश लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच प्रदेशको पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी तथा लगानी प्रवर्धनका लागि समझदारी भएको छ।
दुवै पक्षबीच कोशी प्रदेशमा प्राविधिक र आर्थिक रूपमा सम्भाव्य पूर्वाधार आयोजना पहिचान गरि पीपीपी तथा निजी क्षेत्रको सहभागितामा कार्यान्वयन गर्ने लगायतका बुँदामा एक वर्षको अवधिका लागि समझदारी भएको हो।
प्राधिकरणले सरोकारवालाले पहिचान गरेका सम्भाव्य पूर्वाधार आयोजनामा वित्तीय व्यवस्थापन, वित्तीय सम्भाव्यता मूल्यांकन तथा ज्ञान र विकास साझेदारलाई संलग्न गराई आवश्यक प्राविधिक सहयोगका सम्भावनाको अन्वेषण गरिने जनाएको छ।
समझदारी अनुसार प्राधिकरणले प्रस्तावित आयोजनाको सूची तयार गर्ने, विकासकर्ता तथा सरोकारवालाको सहभागिताका लागि आवश्यक व्यवस्था मिलाउने र आयोजनाको सुरुवाती चरणदेखि नै निफ्रालाई वित्तीय विश्लेषणमा संलग्न गराउने छ।
त्यस्तै, निफ्राले आयोजनाको प्रारम्भिक छनौट, वित्तीय संभाव्यता मूल्यांकन गर्नुका साथै प्राविधिक रूपमा संभाव्य ठहरिएका आयोजनामा वित्तीय सल्लाहकार वा प्रमुख व्यवस्थापकको भूमिका निर्वाह गर्न सक्नेछ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र निफ्राका सिइओ कृष्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सोही कार्यक्रममा सुनसरीका दुहबी नगरपालिकामा फोहरमैला प्रशोधन तथा व्यवस्थापन परियोजना र निर्माणका लागि अर्को समझदारी भएको छ।
समझदारीअनुसार निफ्राले लगानी गर्ने रिभाइभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्ट प्रा.लि.ले विकास आयोजनाको नेतृत्व गर्नेछ। दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले ५६ करोडको लगानीमा १६ बिघा जग्गामा निर्माण हुने परियोजनाले दुहबी क्षेत्रको फोहरको व्यवस्थापन गर्ने जानकारी दिए।
कार्यक्रममा निफ्राका सीईओ अधिकारीले अरू वाणिज्य बैंक र वित्तीय संस्था छोटो अवधिको व्यापारिक कार्यका लागि भएको बताए। अधिकारीले निफ्राले जीडीपी, रोजगारी र आयात प्रतिस्थापन लगायतका क्षेत्रमा बहुआयामिक असर आओस् भन्ने उद्देश्यले दीर्घकालीन लगानी गरिरहेको जानकारी दिए।
निफ्राका अध्यक्ष महेशप्रसाद दाहालले कोशी प्रदेशमा १ खर्ब ५२ अर्बका ४६ वटा परियोजना लगानीका लागि पहिचान भएको उल्लेख गर्दै यी परियोजना प्रतिफल दिन योग्य भएको जिकिर गरे।
एफएनसीसीआई कोशीका अध्यक्ष राजेन्द्र राउतले इटहरीदेखि विराटनगरसम्म ठुलो संख्यामा नर्सिङ होम, टिचिङ अस्पताल र स्वास्थ्य क्लिनिक भएको चर्चा गर्दै यस क्षेत्रमा हस्पिटल वेस्ट गम्भीर समस्याका रूपमा आइसकेको बताए। अध्यक्ष राउतले फोहर व्यवस्थापन गर्ने निकायले हस्पिटल वेस्टका लागि प्याकेजमै कार्यक्रम तयार गर्नुपर्ने सुझाव दिए।