BIZMANDU
www.bizmandu.com

बालेनको भारत भ्रमणमा हुँदैछन् केही विशेष प्याकेज घोषणा, दिनदयाल र पारादीप बन्दरगाह दिन सहमत

२०८३ मंसिर ७

बालेनको भारत भ्रमणमा हुँदैछन् केही विशेष प्याकेज घोषणा, दिनदयाल र पारादीप बन्दरगाह दिन सहमत
बालेनको भारत भ्रमणमा हुँदैछन् केही विशेष प्याकेज घोषणा, दिनदयाल र पारादीप बन्दरगाह दिन सहमत

नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा दुई अर्ब डलरको विशेष प्याकेज घोषणा हुने भएको छ। भारत दुई अर्ब डलर ऋण र अनुदानसहितको प्याकेज घोषणा गर्न तथा त्यसको विस्तृत विषयमा पछि छलफल गर्न सहमत भएको उच्च स्रोतले बतायो।

GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो प्याकेजका विषयमा लगातार छलफलमा लागिरहेको स्रोतले बतायो। यो दुई अर्बको प्याकेजभित्र बुटवल-पोखरा एक्सप्रेसवेदेखि भोटेकोशी बाढीबाट प्रभावित पूर्वाधार पुनर्निर्माण रहनेछ।

अर्थमन्त्री वाग्लेले समेत नेपाल-भारत बिजनेश समिटमा दुई अर्ब डलरको प्याकेज घोषणा भएर विस्तृत विषय पछि टुंग्याउने गरी अगाडि बढ्ने संकेत समेत गरेका थिए। स्रोतका अनुसार नेपालले मागेको एयररुटमा भने सहमति भएको छैन।

स्रोतका अनुसार प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलमा ब्रेकथ्रुको सम्भावना छ। नेपालले मागेको एयररुटमा भारतले बागडोगरा विमानस्थलबाट सबै किसिमका जहाजको उडान अनुमति दिनुपर्ने सर्तले सहमति जुट्न सकेको थिएन। नेपालले व्यावसायिक उडान मात्रै दिन सकिने भनेपछि एयररुटमा सहमति जुट्न नसकेको हो।

बागडोगरामा सैन्य वेस स्टेसन रहेकाले त्यहाँबाट सैन्य उडान दिन नसकिने नेपालले स्पस्ट पारेको छ। नेपाल-भारतका नागरिक उड्डयन प्राधिकरणका अधिकारीबीच सहमति बन्न नसकेपछि यो विषय उच्च राजनीतिक तहमा पुगेको हो। स्रोतका अनुसार भारतले बागडोगराबाट व्यावसायिक उडान मात्रै गर्न सकिने जानकारी भने गराएको छ।

स्रोतका अनुसार भारतले निजी क्षेत्रले संचालन गरिरहेका दुई बन्दरगाह नेपाललाई दिन नसकिने जनाउ दिएको छ। नेपालले अडानी समूहले व्यवस्थापन गरिरहेको मुन्द्रा र धाम्रा बन्दरगाह मागेको थियो।

त्यसको विकल्पमा गुजरातमा रहेको दिनदयाल बन्दरगाह र ओडिसामा रहेको पारादीप बन्दरगाह दिने भएको छ। यी सरकारले चलाइरहेका बन्दरगाह हुन्।

नेपालले मुन्द्रा बन्दरगाह माग्नुका पछाडि कोलकाता बन्दरगाहको निर्भरता घटाउने र दोधारा-चाँदनी सुख्खा बन्दरगाहसँग व्यापारिक सम्पर्क विस्तार गर्ने उद्देश्य थियो। दिनदयाल बन्दरगाहबाट खाडी मुलुक, अफ्रिका र युरोपबाट आउने सामान आयात गर्न सहज हुन्छ। कोलकातामाथिको निर्भरता घटाउन र बन्दरगाहमा हुने भीड कम हुँदा सामान छिटो ल्याउन सकिन्छ।

पारादीप बन्दरगाहबाट कोइला, फलामजन्य कच्चा पदार्थ र बल्क कार्गोको आयात सहज हुन्छ। बंगलादेशसँगै पूर्वी नेपालका उद्योगलाई यो बन्दरगाह उपयोगी हुने उद्योगीले बताए।

स्रोतका अनुसार भारतले नेपालको क्रिकेटको स्तरोन्नति गर्नका लागि विशेष प्याकेज घोषणा गर्ने भएको छ। क्रिकेट खेलाडीको तालिमदेखि भौतिक पूर्वाधारसम्मका लागि प्याकेज घोषणा गर्न भारत तयार भएको स्रोतले बतायो।

स्रोतका अनुसार प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग क्रिकेटको स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गरेका थिए।