BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरले जलवायु कार्य सप्ताह मनाउँदै, १० बालबालिकालाई सद्भावना दूत बनाइने

२०८३ मंसिर ७

काठमाडौं महानगरले जलवायु कार्य सप्ताह मनाउँदै, १० बालबालिकालाई सद्भावना दूत बनाइने
काठमाडौं महानगरले जलवायु कार्य सप्ताह मनाउँदै, १० बालबालिकालाई सद्भावना दूत बनाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि आजदेखि ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्दैछ।

GBIME
Tata

एक सातासम्म संचालन हुने कार्यक्रममा ‘रिचार्ज काठमाडौं’ अभियानदेखि टेकुस्थित बायोग्यास प्लान्ट उद्घाटन र १० बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत बनाउनेसम्मका कार्यक्रम समेटिएका छन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जलवायु परिवर्तनको असर घटाउन अब योजना बनाउनेभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्। उनका अनुसार जलवायु परिवर्तनले श्वास फेर्ने हावादेखि पिउने पानी र बसोबास गर्ने सहरसम्म प्रभावित पारेको छ।

‘हामीले गर्नुपर्ने कामलाई पछाडि धकेल्नु हुँदैन, गरौँला-हेरौँला भन्ने फुर्सद हामीसँग छैन,’ डंगोलले भनिन्, ‘त्यसैले काम नै गर्नुपर्छ भनेर कार्य सप्ताह आयोजना गरेका हौँ।’

एक साताको अवधिमा महानगरले विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने उनको भनाइ छ।

कार्य सप्ताहको पहिलो दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग जलवायु परिवर्तनको प्रभाव र त्यसलाई न्यूनीकरण गर्न भइरहेका प्रयासबारे छलफल हुनेछ। विशेषगरी भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्ना अनुभव सुनाउने कार्यक्रम छ।

पहिलो दिन नै राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गरिनेछ। महानगरभित्रका विद्यालयमा वर्षाको पानी जमिनमुनि पुनःभरण गर्न सकिने स्थान पहिचान गरी अभियान अघि बढाइने डंगोलले जानकारी दिइन्।

दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल हुनेछ। जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनबारे विमर्श गरिनेछ।

तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे छलफल हुनेछ। परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण र पानीको गुणस्तर परीक्षणसम्बन्धी गतिविधि संचालन गरिने महानगरले जनाएको छ।

यस दिन विज्ञ, अनुसन्धानकर्ता, युवा तथा स्थानीय समुदायबीच सम्पदा संरक्षण, जलवायु परिवर्तन र सामुदायिक ज्ञानका विषयमा पनि छलफल हुनेछ। परम्परागत पानी व्यवस्थापन प्रणालीको संरक्षणलाई जलवायु अनुकूलनसँग जोड्ने महानगरको योजना छ।

चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनमा केन्द्रित कार्यक्रम संचालन हुनेछ। स्वच्छ ऊर्जा, विद्युतीय सवारी साधन, ऊर्जा भण्डारण प्रविधि र फोहोरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र आयोजना गरिनेछ।

त्यही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गर्ने कार्यक्रम छ। सफा टेम्पो र विद्युतीय सवारी साधनको प्रयोग प्रवर्धन गर्ने विषयमा पनि छलफल गरिनेछ।

पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ। यस दिन ५० भन्दा बढी विद्यालयमा एकैपटक फोहोर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना र सचेतनामूलक गतिविधि संचालन गरिनेछ।

विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार र इको क्लबका गतिविधि पनि प्रदर्शनीमा राखिनेछन्। जलवायु परिवर्तनका घटनाबारे बालबालिकालाई सचेत बनाउँदै भविष्यका जोखिम सामना गर्न तयार पार्ने उद्देश्यले विभिन्न सिर्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको महानगरले जनाएको छ।

यसै अवसरमा ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता पनि आयोजना गरिएको छ। महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन सक्नेछन्।

प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना स्थान हासिल गर्ने ७ जनाले जनही १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताबाट छनोट हुने १० जनालाई ‘काठमाडौं महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ घोषणा गरिनेछ। उनीहरूले वर्षभरि बालबालिकाको सहभागितामा जलवायु सचेतना र सिर्जनात्मक गतिविधि प्रवर्धन गर्ने महानगरको योजना छ।

छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा कार्यक्रम संचालन हुनेछ। सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनको असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको भूमिकाबारे छलफल गरिनेछ।

महानगरपालिकाले यसअघि ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गरेको थियो। त्यसलगत्तै सुरु गर्न लागिएको जलवायु कार्य सप्ताहलाई स्थानीय तहमा जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि ठोस काम अघि बढाउने अभियानका रूपमा लिइएको छ।