BIZMANDU
www.bizmandu.com

नास-आईटी एक्स्पोमा नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजार विस्तारको अवसर

२०८३ मंसिर ७

नास-आईटी एक्स्पोमा नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजार विस्तारको अवसर
नास-आईटी एक्स्पोमा नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजार विस्तारको अवसर

ललितपुर। नेपाली सूचना प्रविधि उद्योगको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावना प्रस्तुत गर्दै दोस्रो संस्करणको ‘नास-आईटी एक्स्पो’ सम्पन्न भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार र आइतबार आयोजित एक्स्पोमा ४ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएका छन्।

GBIME
Tata

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)का अनुसार एक्स्पोमा विभिन्न प्रविधि तथा सेवा क्षेत्रका ३१ वटा स्टल राखिएका थिए। अवलोकनकर्ताले नेपाली कम्पनीका सफ्टवेयर समाधान, प्रविधि सेवा र डिजिटल नवप्रवर्तनबारे जानकारी लिए।

यसपटक विद्यार्थीका साथै बैंकिङ, कर्पोरेट तथा विभिन्न औद्योगिक क्षेत्रका पेशाकर्मीको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। यसले एक्स्पोलाई प्रविधि प्रदर्शनसँगै व्यावसायिक सञ्जाल विस्तार र सहकार्यको माध्यम बनाएको छ।

एक्स्पोमा सभामुख डीपी अर्याल, राजनीतिज्ञ सुमना श्रेष्ठ लगायत सरकारी तथा नीतिगत तहका व्यक्तित्वले पनि अवलोकन गरेका थिए। विभिन्न मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले प्रत्यक्ष र भिडियो सन्देशमार्फत सहभागिता जनाएका थिए।

एक्स्पोको दोस्रो दिन नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार र स्वदेशी प्रविधि उत्पादनको प्रयोग बढाउने विषयमा दुईवटा प्यानल छलफल भएका थिए। ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्थेनिङ नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ शीर्षकका छलफलमा प्रविधि उद्यमी तथा विज्ञले अनुभव र सम्भावनाबारे विचार राखेका थिए।

अमेरिकी बजारमा नेपाली सूचना प्रविधि कम्पनीको पहुँच र व्यावसायिक साझेदारीका अवसरबारे आयोजित ‘सेलेक्ट यूएसए’ छलफलमा अमेरिकी दूतावासकी राजनीतिक तथा आर्थिक प्रमुख केट लिही सहभागी थिइन्। स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र यल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठले पनि छलफलमा भाग लिएका थिए।

अमिरराज थापाले सहजीकरण गरेको उक्त छलफलमा अमेरिकी बजारमा नेपाली कम्पनीको व्यावसायिक पहुँच, साझेदारी र विस्तारका सम्भावनाबारे चर्चा भएको थियो। नेपाली प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवसर र चुनौतीबारे पनि विचार आदानप्रदान गरिएको थियो।

दोस्रो प्यानल छलफलमा नेपाली प्रविधि उद्यमीले आफ्ना उत्पादन, नवप्रवर्तन र व्यावसायिक अनुभव प्रस्तुत गरेका थिए। एक्स्पो संयोजक प्रार्थना साखःले सहजीकरण गरेको छलफलमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, र्‍यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साह, एड्रेसग्राफ नेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमाल र थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति सहभागी थिए।

गुप्ताले सन् २००८ देखि सुरु गरेको उद्यमशीलता यात्राबाट विकसित एआई प्रणालीबारे जानकारी दिएका थिए। उनले पाठ र आवाजमा आधारित संवादलाई एउटै प्रणालीमा एकीकृत गर्ने प्रविधि विकास गरेको बताए।

उनका अनुसार उक्त प्रणालीले फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्राम लगायत माध्यमबाट आउने ग्राहक संवादलाई एउटै ठाउँमा व्यवस्थापन गर्न सक्छ। यसले ग्राहकसँगको संवादकै आधारमा भेटघाटको समय तय गर्ने र व्यावसायिक प्रस्ताव तयार गरी पठाउने सुविधा पनि दिन्छ।

गुप्ताले नेपाली प्रविधि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजनाबारे पनि जानकारी दिए। उनका अनुसार आगामी जनवरी १५ मा भारतमा आकाशटेल सार्वजनिक गर्ने तयारी छ।

र्‍यापिडका प्रमुख कार्यकारी अधिकृत साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच प्रत्यक्ष एकीकरण गर्न सकिने प्रविधिबारे चर्चा गरेका थिए। युरोपको पीएसडी-२ संरचना र आईएसओ २००२२ मापदण्डमा आधारित प्रणालीबाट वास्तविक समयमै खाताको मौज्दात, भुक्तानी तथा हिसाब मिलान गर्न सकिने उनले बताए।

यस प्रविधिले व्यवसायको वित्तीय कारोबारलाई सहज र पारदर्शी बनाउने उनको भनाइ थियो। साथै, वित्तीय व्यवस्थापनलाई स्वचालित बनाउन सहयोग गर्ने उनले बताए।

एड्रेसग्राफ नेपालका रिमालले स्थानीय समस्या समाधानका लागि स्थानीय प्रविधिको विकास आवश्यक रहेको बताए। आफ्नो २८ वर्षको प्रविधि विकास यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरेको उल्लेख गर्दै उनले नेपालमै निर्मित विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको जानकारी दिए।

उनले ७ वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीबारे पनि जानकारी दिए। उक्त प्रणालीबाट तीन सेकेन्डमै कुनै स्थानको विवरण साझेदारी गर्न सकिने उनले बताए।

थर्ड फ्याक्टर एआईका प्रजापतिले डिजिटल कारोबार बढे पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र पहिचान प्रमाणीकरणजस्ता सेवामा अझै भौतिक उपस्थितिको आवश्यकता रहेको बताए। डिजिटल पहिचान प्रमाणीकरण प्रविधिले यस्ता सेवा सहज बनाउँदै सेवाग्राहीको भौतिक उपस्थितिमा निर्भरता घटाउन सक्ने उनको भनाइ थियो।

‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोमा ६ क्षेत्रका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी थिए। साइबर सुरक्षा तथा डिजिटल विश्वास, वित्तीय प्रविधि तथा बैंकिङ, व्यावसायिक सफ्टवेयर, एआई तथा स्वचालन, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रका कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेका थिए।

यस वर्ष पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियन स्थापना गरिएको थियो। ब्ल्याकफायर एआई, साइबर अलर्ट नेपाल, मेडीनेप्स, बुकयोरकाउन्सेलिङ, गोर्खा साइबर फोर्स र मिरागो लगायत स्टार्टअपले आफ्ना नवीनतम प्रविधि तथा सेवा प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार एक्स्पोको मुख्य उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नु हो। यसले नेपालमै प्रविधिमा आधारित रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार गर्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।

सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको एक्स्पोमा २ हजार ५ सयभन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनी सहभागी भएका थिए। दोस्रो संस्करणमा प्रदर्शनीसँगै स्टार्टअप प्याभिलियन, पिच सत्र र प्यानल छलफल थप गरिएको थियो।

कार्यक्रममा जापान, दक्षिण कोरिया, बेलायत र स्विट्जरल्यान्ड लगायत देशका राजदूतले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपालसँगको आपसी साझेदारी र निरन्तर सहकार्यको महत्त्वमा जोड दिएका थिए।

यसअघि सम्पन्न सत्रमा स्विट्जरल्यान्ड र बेलायत लगायत मित्रराष्ट्रका राजदूत तथा प्रतिनिधिले प्रत्यक्ष सहभागिता जनाएका थिए। आयोजकका अनुसार कूटनीतिक क्षेत्रको सहभागिताले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय सहकार्य र बजार विस्तारको सम्भावनालाई थप उजागर गरेको छ।