BIZMANDU
www.bizmandu.com

नेपाल र भारतबिचको सम्बन्धलाई दिल्ली केन्द्रित नगरौं, क्षेत्रीय साझेदारी विस्तार गरौं

२०८३ मंसिर ६

नेपाल र भारतबिचको सम्बन्धलाई दिल्ली केन्द्रित नगरौं, क्षेत्रीय साझेदारी विस्तार गरौं
नेपाल र भारतबिचको सम्बन्धलाई दिल्ली केन्द्रित नगरौं, क्षेत्रीय साझेदारी विस्तार गरौं

नेपाल–भारत संयुक्त व्यवसाय मञ्चको आधार नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखि कायम रहेको सहकार्य र साझेदारीमा निहीत छ।

GBIME
Tata

सन् २००७ मा भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित व्यावसायिक सम्मेलनका क्रममा दुवै देशका निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धन गर्ने तथा द्विपक्षीय व्यापार र व्यवसायमा रहेका अवरोधहरू समाधान गर्ने उद्देश्यले संयुक्त व्यवसाय परिषद् गठन गरिएको थियो।

सन् २०१६ मा दुवै देशका सरकारले यस पहलको महत्त्वलाई स्वीकार गर्दै औपचारिक नेपाल–भारत संयुक्त व्यवसाय मञ्च स्थापना गर्न आवश्यक कार्यविधि र प्रक्रिया विकास गर्ने सहमति गरेका थिए।

अप्रिल २०१८ मा अन्तरसरकारी समितिमार्फत यस प्रक्रियालाई थप अगाडि बढाइयो। त्यस क्रममा सदस्यहरूको सूची आदानप्रदान गर्नुका साथै मञ्चको कार्यादेशलाई अन्तिम रूप दिइएको थियो।

७ डिसेम्बर २०२० मा दुवै पक्षले संयुक्त व्यवसाय मञ्चको पहिलो बैठक आयोजना गर्ने आफ्नो अभिप्राय व्यक्त गरेका थिए। अन्ततः १ जुन २०२३ मा नयाँदिल्लीमा मञ्चको पहिलो बैठक सम्पन्न भयो। त्यसपछि ११ जनवरी २०२४ मा काठमाडौंको चन्द्रागिरिमा दोस्रो बैठक आयोजना गरियो।

यस मञ्चको सचिवालयका रूपमा नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतमा भारतीय उद्योग परिसंघले जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

संयुक्त व्यवसाय मञ्चको महत्त्व स्पष्ट छ। यसले दुवै देशका व्यवसायीलाई एउटै संस्थागत मञ्चमा जोड्ने, व्यापारिक अवरोधहरू पहिचान गर्ने, सरकारसमक्ष समाधानका उपाय प्रस्तुत गर्ने, लगानी प्रवर्द्धन गर्ने तथा दुई देशबीच भएका द्विपक्षीय प्रतिबद्धतालाई वास्तविक व्यावसायिक अवसरमा रूपान्तरण गर्ने प्रत्यक्ष माध्यमको काम गर्दछ।

अब हाम्रो प्राथमिकता यस मञ्चलाई अझ सक्रिय, परिणाममुखी र प्रभावकारी बनाउनु हुनुपर्छ।

प्रमुख प्राथमिकता : व्यापारबाट लगानीतर्फ

व्यवसाय सञ्चालन सहज बनाउने र व्यापारिक अवरोध हटाउने

नेपाल र भारतबीच व्यापार विस्तारका लागि अझै पनि विभिन्न नीतिगत तथा प्रक्रियागत अवरोधहरू विद्यमान छन्। ती अवरोधहरूको समाधान हाम्रो प्रमुख प्राथमिकता हुनुपर्छ।

गैरभन्सार अवरोध, भारतीय मानक ब्युरोबाट हुने प्रमाणीकरण, उत्पादनसम्बन्धी मापदण्ड, क्वारेन्टिन तथा भन्सार प्रक्रियामा देखिएका समस्याहरूको सम्बोधन गर्नुपर्छ। आवश्यक कागजात, परीक्षण तथा प्रमाणीकरण प्रक्रियालाई सरल र सहज बनाउनुपर्छ।

सीमा नाकामा वस्तुको जाँचपास प्रक्रिया छिटो, पारदर्शी र प्रभावकारी बनाउँदै अनावश्यक ढिलाइ अन्त्य गर्नुपर्छ।

निजी क्षेत्रका व्यवसायीले भोगेका समस्या तथा गुनासो निश्चित समयसीमाभित्र समाधान गर्ने गरी दुवै देशका सरकार र निजी क्षेत्रको सहभागितामा संयुक्त संयन्त्र स्थापना गर्नुपर्छ।

ऊर्जा सहकार्य : नयाँ सम्भावनाको महत्वपूर्ण क्षेत्र

ऊर्जा सहकार्य नेपाल–भारत आर्थिक साझेदारीको सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्रमध्ये एक हो।

नेपालले भारतसँग विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि आशयपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाउनु एउटा महत्वपूर्ण उपलब्धि हो।

भारतीय ऊर्जा कम्पनीहरूलाई नेपाली कम्पनीहरूसँग संयुक्त उद्यम, लगानी तथा प्राविधिक सहकार्यमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ। आवश्यक नियामकीय स्वीकृति तथा विद्युत् प्रसारण प्रणालीमा पहुँच सुनिश्चित गर्न सके नेपालमा रहेको जलविद्युत् सम्भावनाको अधिकतम उपयोग गर्न सकिन्छ।

यसबाट नेपालले आफ्नो जलविद्युत् उत्पादन क्षमताको विकास गर्नुका साथै क्षेत्रीय ऊर्जा व्यापारलाई समेत थप सुदृढ बनाउन सक्छ।

सीमापार लगानी र मूल्य अभिवृद्धिमा आधारित उद्योग

अब हामीले केवल वस्तु आयात र निर्यातमा सीमित रहने परम्परागत व्यापारिक सम्बन्धभन्दा माथि उठ्न आवश्यक छ। हाम्रो लक्ष्य नेपाल र भारतबीच उत्पादन, लगानी, प्रविधि र औद्योगिक सहकार्यमा आधारित आर्थिक सम्बन्ध विकास गर्नु हुनुपर्छ।

संयुक्त लगानी आवश्यक

संयुक्त लगानी, प्रविधि हस्तान्तरण तथा मूल्य अभिवृद्धिमा आधारित उत्पादनमूलक उद्योगमार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्नुपर्छ।

सीमापार औद्योगिक मूल्य शृङ्खला, कृषि प्रशोधन उद्योग, निर्यातमुखी उद्योग तथा एकीकृत औद्योगिक क्षेत्रको विकासमा सहकार्य गर्नुपर्छ। उत्पादन र व्यापारलाई सहयोग पुग्ने गरी यातायात सम्पर्क, सीमा पूर्वाधार, ढुवानी तथा भण्डारण व्यवस्था र औद्योगिक सुविधाहरूको विकास गर्नुपर्छ।

दुवै देशका व्यवसायीका लागि नयाँ अवसर सिर्जना गर्दै रोजगारी र आर्थिक समृद्धिको आधार तयार गर्नुपर्छ।

दिल्लीभन्दा बाहिर सोचौँ : क्षेत्रीय साझेदारी विस्तार गरौँ

भारतसँगको हाम्रो सम्बन्धलाई केवल नयाँदिल्लीमा केन्द्रित गरेर हेर्नु हुँदैन।

हामीले भारतका छिमेकी राज्यहरूसँग आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सक्रिय बनाउनुपर्छ। विशेषगरी उत्तर प्रदेश, बिहार र उत्तराखण्डलगायत नेपालसँग भौगोलिक तथा आर्थिक निकटता भएका राज्यहरूसँग सहकार्य विस्तार गर्न आवश्यक छ।

वाणिज्य संघबिच प्रत्यक्ष साझेदारी

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र भारतका विभिन्न राज्य तथा क्षेत्रका उद्योग वाणिज्य संघहरूबीच प्रत्यक्ष साझेदारी विकास गर्ने।

क्षेत्रीय व्यावसायिक सम्मेलन तथा लगानी प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने।

औद्योगिक क्षेत्र, ढुवानी तथा भण्डारण व्यवस्था, पर्यटन, कृषि, ऊर्जा र उत्पादनमूलक उद्योगमा सहकार्य गर्ने।

सीमापार पूर्वाधार तथा यातायात र व्यापारिक सम्पर्कलाई थप सुदृढ बनाउने।

हाम्रो भौगोलिक निकटतालाई नै सबैभन्दा ठूलो आर्थिक प्रतिस्पर्धात्मक लाभमा रूपान्तरण गर्नुपर्छ।

नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्ध अत्यन्त गहिरो छ। यो साझा सम्पदा पर्यटन विकासका लागि ठूलो सम्भावना हो।

पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ र जनकपुरलाई भारतका वाराणसी, अयोध्या र बोधगयासँग जोडेर संयुक्त धार्मिक तथा आध्यात्मिक पर्यटन मार्ग विकास गर्न सकिन्छ।

त्यसैगरी, स्वास्थ्यवर्द्धक विश्रामस्थल, आयुर्वेद, योग, ध्यान तथा गुणस्तरीय अतिथि सत्कार सेवाका क्षेत्रमा दुवै देशका लगानीकर्ताका लागि प्रशस्त अवसरहरू छन्।

हामीले यी सम्भावनालाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै नेपाल र भारतलाई विश्वकै महत्वपूर्ण आध्यात्मिक तथा स्वास्थ्यवर्द्धक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सक्नुपर्छ। 

विशेषगरी हामी निम्न विषयमा सरकारको सक्रिय सहयोग चाहन्छौँ :

द्विपक्षीय व्यापारमा रहेका अवरोध तथा गैरभन्सार अवरोधहरूको अन्त्य।

सीमापार लगानी तथा संयुक्त उद्यमका लागि आवश्यक सहजीकरण।

ऊर्जा व्यापारमा निजी क्षेत्रको सहभागितालाई अगाडि बढाउने।

सीमा पूर्वाधार, औद्योगिक पूर्वाधार तथा यातायात सम्पर्कको सुधार।

लगानीकर्ताका लागि स्थिर, अनुमानयोग्य र लगानीमैत्री व्यावसायिक वातावरण निर्माण।

यसका साथै, यस मञ्चबाट प्रस्तुत हुने सुझाव र सिफारिसहरू बैठकको कार्यवृत्तमा मात्र सीमित नहोऊन् भन्ने हाम्रो चाहना छ। त्यसैले ती विषयको कार्यान्वयन अवस्था नियमित रूपमा समीक्षा गर्ने र निश्चित समयसीमाभित्र प्रगति सुनिश्चित गर्ने स्पष्ट सरकारी अनुगमन तथा कार्यान्वयन संयन्त्र निर्माण गर्न हामी आग्रह गर्दछौं। 

अब नेपाल–भारत सम्बन्धलाई परम्परागत खरिदकर्ता र बिक्रेताको सम्बन्धमा मात्र सीमित राख्ने समय रहेन हामीले यसलाई लगानीकर्ता, उत्पादक, उद्यमी र नवप्रवर्तकहरूबीचको सशक्त आर्थिक साझेदारीका रूपमा विकास गर्नुपर्छ। आउनुहोस्, दिल्लीको परिधिभन्दा बाहिर सोचौँ। परम्परागत व्यापारभन्दा माथि उठौँ। संवादमा मात्र सीमित नरही ठोस कार्यान्वयनतर्फ अघि बढौँ।

व्यापारका अवरोध हटाऔँ, लगानीलाई सहजीकरण गरौँ, उद्योग स्थापना गरौँ र दुवै देशका नागरिकका लागि रोजगारी, अवसर तथा समृद्धिको नयाँ आधार निर्माण गरौँ।

हाम्रा माननीय मन्त्रीज्यूहरू तथा दुवै देशका सरकारको सहयोग र सहकार्यमा संयुक्त व्यवसाय मञ्च निजी क्षेत्र र नीतिनिर्माताबीचको एउटा प्रभावकारी सेतु बन्न सक्नेछ भन्ने मेरो दृढ विश्वास छ।

हाम्रो उद्देश्य स्पष्ट हुनुपर्छ—कम कुरा, कम अवरोध र बढी व्यापार, बढी लगानी तथा ठोस परिणाम। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाद्वारा इन्डिया नेपाल बिजनेश राउन्डटेबलमा व्यक्त धारणा।