नयाँ दिल्ली। भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले तीव्र आर्थिक वृद्धिमा केन्द्रित रहन नेपाललाई सुझाव दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका अवसरमा आयोजित नेपाल भारत बिजनेस राउन्ड टेबलमा राज्यमन्त्री जितिनले दुई देशको सम्बन्ध, व्यापार र लगानीमा चर्चा गर्दै यस्तो सुझाव दिएका हुन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको छिटो हिँड्ने बानीको प्रसंग कोट्याउँदै त्यही गतिमा नेपालले आर्थिक वृद्धि गर्नु सुझाएका हुन्। जितिनले नेपालको क्रिकेट पूर्वाधारमा भारतका लगानीकर्ता प्रोत्साहित हुने पनि बताए। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसंग निकाल्दै उनले भारतका लगानीकर्ता नेपालको क्रिकेट पूर्वाधारमा प्रोत्साहित हुने बताएका हुन्।
उनले नेपाललाई क्वालिटी प्रडक्ट उत्पादन गर्न सुझाव दिए। देश सानो भए पनि प्रडक्टको क्वालिटी भएमा त्यसले बजार पाउने बताए।
जितिनले नेपालसँग आफ्नो निर्वाचन क्षेत्र जोडिएको भन्दै खुला बोर्डर दुई देशको सुन्दर पक्ष रहेको पनि बताए।
भारतीय लगानीकर्ताको न्यून सहभागिता
भ्रमणका क्रममा आयोजित राउन्डटेबलमा भारतका व्यवसायी र लगानीकर्ताको भने न्यूता सहभागिता रहेको थियो।
कार्यक्रममा भारत उद्योग परिसंघमा आबद्ध दर्जन व्यवसायीमाझ अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीका लागि आह्वान गरेका छन्। दुई देशका प्रधानमन्त्रीबिच छलफल हुने अघिल्लो दिन आयोजित बिजनेस राउन्ड टेबलमा नेपालका ३० भन्दा बढी व्यवसायी सहभागी थिए।
भारततर्फका उच्च सरकारी अधिकारी आउने/नआउने निश्चित नहुँदा ४५ मिनेट ढिला सुरु भएको कार्यक्रममा राज्यमन्त्री जितिन सहभागी भएका थिए।

नेपाल तर्फबाट सबैजसो ठूला बिजनेस हाउसका प्रतिनिधि उपस्थित कार्यक्रममा भारततर्फ जम्मा दर्जन व्यवसायी उपस्थित हुँदा राउन्डटेबल नियमितमा मात्र सीमित भएको हो।
परियोजनाबारे लगानीकर्तालाई जानकारी
भारततिरबाट परिसंघका महानिर्देशक बिक्रमजित सिंह सहनीले नेपाल भारत व्यापार, लगानीका बारेमा चर्चा गरे। उनले व्यापारलाई नै प्राथमिकता दिँदै भन्सार सुधारदेखि रेल्वे कार्गो सेवा विस्तारको चर्चा गरे। त्यसपछि धारणा राखेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले लगानी सम्भावनाबारे बताए। कमलेश अग्रवालले पनि लगानीका लागि आह्वान गरे।

लगानी बोर्डकी सिइओ याङ्की उक्यावले नीति नियममा भएको सुधारबारे बताइन्। उनले बोर्डबाट अगाडि बढेका परियोजनाबारे जानकारी दिइन्। उनले नेपालको ग्रीन ऊर्जाबाट डाटा सेन्टर चलाउन सकिने सम्भावनाबारे बताइन्। भैरहवा-पोखरा द्रुतमार्ग परियोजनाको सम्भावनाबारे पनि उनले धारणा राखिन्।
यी सबै सुन्न दर्जन भारतीय व्यवसायी थिए, ती पनि अधिकांश ठूला लगानीकर्ता नभई व्यवसायीका नेता थिए।
नेपालमा पहिले नै लगानी गरेको पन्जाब नेशनल बैक, एसियन पेन्टसका भाइस प्रेसिडेन्टले राउन्ड टेबलमा धारणा राखेका थिए।

भ्रमणका क्रममा सरकारी पक्षले व्यवसायीसँग गरेको कार्यक्रममा नेपालबाट गएकाहरूलाई इङ्गेज गर्न आयोजना गरेजस्तो देखिएको थियो।
आफ्नै खर्चमा दिल्ली आएका व्यवसायी अधिकांश ताज होटलमै बसेका छन् भने केही वरपरका होटलमा बसेका छन्।
कार्यक्रममा व्यवसायीहरूलाई छोटोमा कुरा राख्ने समय दिइएको थियो।
संवादमा नेपाल उद्योग परिसंघका अध्यक्ष, एफएनसीसीआईकी पूर्वअध्यक्ष भवानी राणालगायतले लगानीका लागि प्रोत्साहित गरेका थिए।
भारततिरका व्यवसायीले दुवै देशको हितमा हुने लगानीबारे चर्चा गरेका थिए। नेपाल भारत पर्यटनलाई नयाँ उचाइमा पुर्याउन इच्छुक रहेको बताए।