BIZMANDU
www.bizmandu.com

ताज होटलमा व्यवसायीसँग गरेनन् बालेनले कुराकानी, भारतीय निजी क्षेत्रसँग पनि छैन भेट्ने तालिका

२०८३ मंसिर ६

ताज होटलमा व्यवसायीसँग गरेनन् बालेनले कुराकानी, भारतीय निजी क्षेत्रसँग पनि छैन भेट्ने तालिका
ताज होटलमा व्यवसायीसँग गरेनन् बालेनले कुराकानी, भारतीय निजी क्षेत्रसँग पनि छैन भेट्ने तालिका

नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो भ्रमण टोलीमा राखेका उद्योगी व्यवसायी स्वागतका लागि नयाँ दिल्लीको ताज होटलमा लहरै बसेका थिए।

GBIME
Tata

नयाँ दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट होटल आइपुगेका प्रधानमन्त्रीलाई स्वागत गर्न बसेका उद्योगी व्यवसायीले गरेको अभिवादन समेत बालेनले फर्काएनन्।

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणमा निजी क्षेत्रलाई उपेक्षा गरेका छन्। परराष्ट्र मन्त्रालयले भ्रमण टोलीमा सहभागी गराएपछि उत्साहित भएको निजी क्षेत्रले नयाँ दिल्लीमा बालेनको व्यवहार र तालिका देखेर खल्लो मानेको छ।

भ्रमण टोलीमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल लगायत उद्योगी व्यवसायी ताज होटलको लबीमा थिए। युवा उद्यमी सचिन ढकाल, नितेश मालपानी लगायत पनि लबीमै थिए। होटल व्यवस्थापनले प्रधानमन्त्री शाहलाई स्वागत गर्‍यो।

तर, बालेनले लबीमा लस्करै उभिएर अभिवादन गरेका भ्रमण टोलीका उद्योगी व्यवसायीसँग बोलचाल गरेनन्। उद्योगी व्यवसायी आफ्नै खर्चमा नयाँ दिल्ली आएका हुन्।

भ्रमण टोलीमा सामेल गराइए पनि उद्योगी व्यवसायी र बालेन आमनेसामने हुने तालिका छैन। प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली आएका हुन्। भ्रमण टोलीमा रहेका धेरै उद्योगी व्यवसायी अर्कै विमानबाट नयाँदिल्ली आएका थिए। केही उद्योगी मात्रै निगमको जहाजमा आएका हुन्।

उद्योगी व्यवसायीले प्रधानमन्त्री सवार जहाजको टिकट खोजे पनि बिक्री भइसकेकाले पाएनन्। परराष्ट्र मन्त्रालयले ३५ जनाको मात्रै टिकट बुकिङ गरेको थियो। निगमले प्रधानमन्त्री सवार हुने जहाजमा चाप बढेपछि वाइड बडी राख्न पर्यटन मन्त्रालयमा प्रस्ताव गरेको थियो। तर, मन्त्रालयले मानेन।

भारतका लगानीकर्ता र प्रमुख कार्यकारी अधिकृतलाई पनि बालेनले भेट्ने कार्यक्रम छैन। लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघले गर्न लागेको सीइओ राउण्डटेबल अन्तिम चरणमा रद्द भएको थियो। यो कार्यक्रमका लागि संघले भारतका टप कम्पनीका सीइओलाई आमन्त्रण गरेको थियो। यो कार्यक्रममा सुरुमै प्रधानमन्त्री बालेन सहभागी हुने सुनिश्चितता थिएन।

बालेनको भ्रमण अन्तर्गत साँझ ७ बजेदेखि नेपाल भारत बिजनेस फोरमको कार्यक्रम छ। त्यो कार्यक्रममा सहभागी हुने अधिकांश नेपाली उद्योगी व्यवसायी हुन्। भारतीय उद्योगी व्यवसायी खासै सहभागी नहुने भएका छन्।

बालेनले उद्योगी व्यवसायीको जमघटमा सम्बोधनको जिम्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई दिएका छन्। कार्यक्रम सेड्युल अनुसार यो कार्यक्रममा भारतीय मन्त्री सहभागी हुने छैनन्।

डिनरसहितको कार्यक्रममा प्रधानमन्त्री बालेन सहभागी नहुने भएपछि भारतका हाइ प्रोफाइल व्यवसायी अनिच्छुक भएको स्रोतले बतायो। जबकि त्यो कार्यक्रम भारतीय लगानीकर्तालाई नेपालमा भित्र्याउने एउटा राम्रो अवसर थियो। बालेन आफू बसेको होटलमा हुने कार्यक्रममा नै सहभागी नहुने भएपछि निजी क्षेत्र निराश भएको छ। जबकि यसअघिका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा उद्यवगी व्यवसायीको कार्यक्रमलाई महत्त्व दिएर आफैं सम्बोधन गर्ने गरेका थिए।

प्रधानमन्त्री बालेन सोमबार बिहान १० बजेदेखि औपचारिक कार्यक्रममा सहभागी हुनेछन्। ती कुनै पनि कार्यक्रममा उद्योगी व्यवसायीले बालेनसँग भेटघाटको समय पाउने छैनन्।

राष्ट्रपति भवनमा हुने गार्ड अफ अनर कार्यक्रममा निजी क्षेत्र जान पाउने छैन। बालेन त्यसपछि शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्न राजघाट जानेछन्। त्यहाँबाट फर्केर उनी हैदरावाद हाउस पुग्नेछन् जहाँ उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्नेछन्। मोदीसँगको वार्तापछि प्रतिनिधि मण्डलस्तरमा छलफल हुनेछ। यी कार्यक्रममा निजी क्षेत्र हुने कुरै भएन।

अपराह्न १:१५ बजे मोदीले बालेनको सम्मानमा दिवाभोज राखेका छन्। त्यहाँ निजी क्षेत्र सहभागी हुनेछ। तर दिवाभोजमा लगानीका विषयमा कुरा हुने छैन। त्यसपछि बालेन राष्ट्रपतिसँग शिष्टाचार भेट गरेर ४:५० बजे काठमाडौंका लागि प्रस्थान गर्नेछन्।