काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच एकता र सहकार्यको आवश्यकता औंल्याएका छन्।
उनले आइतबार चितवनको भरतपुरमा आयोतित ‘मार्क्सवादी ज्ञान केन्द्र’को छैटौं साधारण सभामा तत्काल पार्टी एकता सम्भव नभए पनि सरकार, संसद्, निर्वाचन र सडक संघर्षमा कार्यगत एकता गर्नुपर्ने प्रस्ताव गरे।
‘पहिलो भनेको लेफ्टहरू मिल्ने नै हो। सकिन्छ एकता, सकिँदैन कमसेकम चुनावमा कार्यगत एकता गरेर जानुपर्छ,’ उनले भने।
पुनले वामपन्थीका अलावा संविधान, गणतन्त्र, संघीयता, समावेशीता र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका शक्तिबीच पनि सहकार्य आवश्यक रहेको बताए।
उनले कुनै समय दुई तिहाइ बहुमतसम्म पुगेको कम्युनिस्ट जनमत १५-१६ प्रतिशतमा खुम्चिनुमा बदलिएको समाज र वर्ग संरचनाअनुसार आफूलाई रूपान्तरण गर्न नसक्नु मुख्य कारण भएको बताए।
उनले पछिल्ला दुई दशकमा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकास तथा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण नेपाली समाजको वर्ग संरचना बदलिएको भन्दै मध्यम वर्गको चाहना र आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट पार्टी असफल भएको स्वीकार गरे।
‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौँ, आफूलाई अपडेट गर्न सकेनौँ, मार्क्सवादलाई विकास गर्न सकेनौँ भन्ने कुरा हामीले स्वीकार्नुपर्छ,’ उनले भने।
पुनले पुँजीवादी व्यवस्था अन्तिम संकटमा फसेको र विश्वभर कम्युनिस्ट, वामपन्थी र समाजवादी विचारप्रति आकर्षण बढ्न थालेको दाबि गरे। अमेरिका र युरोपेली देशका जनतासमेत कम्युनिष्ट विचारधाराप्रति आकर्षित भएको उनको दाबी छ।
उनले सीमित व्यक्तिको हातमा सम्पत्ति र अवसर केन्द्रित हुँदै जाँदा सांसारभरबाट पुँजीवादी व्यवस्थाको विकल्प खोज्न थालिएको बताए।