BIZMANDU
www.bizmandu.com

कोरला नाकाबाट चार महिनामा सात हजार इभी आयात, मुस्ताङ भन्सारको राजस्व लक्ष्यभन्दा बढी

२०८३ मंसिर ६

कोरला नाकाबाट चार महिनामा सात हजार इभी आयात, मुस्ताङ भन्सारको राजस्व लक्ष्यभन्दा बढी
कोरला नाकाबाट चार महिनामा सात हजार इभी आयात, मुस्ताङ भन्सारको राजस्व लक्ष्यभन्दा बढी

मुस्ताङ। चीनसँगको नाका कोरलाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।

GBIME
Tata

कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधिमा ३ हजार २ सय २३ वटा इभी भित्रिएको थियो। यसपटक छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो हो।

गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएकाले विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको भन्सार अधिकृत अमिन्द्र सिंहले बताए। उनका अनुसार, चालु वर्ष गत साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा इभी नेपाल भित्रिएका छन्।

मुस्ताङी नाकाबाट नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन भने सडक जोखिमपूर्ण छन्। योसँगै दक्ष चालकको अभाव हुँदा विभिन्न व्यवसायीले चुनौती खेप्न परेको गुनासो गरेको भन्सार प्रमुखको भनाइ छ। सोही समस्याका कारण मुस्ताङ भन्सारमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय गाडी अझै पनि सडकमै रहेको पाइएको छ।

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयको वार्षिक राजस्व लक्ष्य नौ अर्ब रुपैयाँ छ। पहिलो चार महिनामै लक्ष्यभन्दा ३ अर्ब ५५ करोड १४ लाख बढी राजस्व उठेको भन्सार अधिकृत सिंहले जानकारी दिए।

कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ। त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात भएको छ।

त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा कोरला नाका भएर २९ करोड ५२ लाख रुपैयाँ बराबरको मालवस्तु चीन निकासी भएको छ। नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए। रासस