काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीबीच शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई स्वागत गरेका थिए। उनले हालै रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जापानले तत्काल राहत तथा सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे।
खनालले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकोमा जापान सरकारलाई धन्यवाद दिएका थिए। नेपाल र जापानबीचको सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो।
जापानी उपविदेशमन्त्री फुजी नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा सहभागी हुन नेपाल आएका हुन्। काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल-जापान महोत्सवमा सहभागी हुन उनी २ दिने भ्रमणमा काठमाडौं आएका हुन्।