BIZMANDU
www.bizmandu.com

औपचारिक स्वागत र वक्तव्यभन्दा परिणाम खोज्न कांग्रेसको आग्रह, सरकारको तयारीमाथि प्रश्न

२०८३ मंसिर ५

औपचारिक स्वागत र वक्तव्यभन्दा परिणाम खोज्न कांग्रेसको आग्रह, सरकारको तयारीमाथि प्रश्न
औपचारिक स्वागत र वक्तव्यभन्दा परिणाम खोज्न कांग्रेसको आग्रह, सरकारको तयारीमाथि प्रश्न

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि सरकारले प्रमुख प्रतिपक्षीसँगै राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणमा जाँदैछन्।

GBIME
Tata

भ्रमणलाई राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने कांग्रेसको भनाइ छ। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा महत्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलसँग परामर्श गर्ने स्थापित लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको उल्लेख छ।

कांग्रेसले प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउन आफ्नातर्फबाट सुझाव दिने तयारी गरेको थियो। जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी थियो। यसका लागि गत बुधबार विषयविज्ञको सहभागितामा विशेष आन्तरिक छलफलसमेत गरेको विज्ञप्तिमा उल्लेख छ।

‘प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र होइन, सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ। कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो बनाउने भन्दै सरकारले यो वास्तविकतालाई आत्मसात् गर्न नसकेको टिप्पणी गरेको छ।

यद्यपि, सरकारको कमजोरीलाई प्रधानमन्त्रीको भ्रमणको सम्भावित विषयसँग जोड्न नचाहेको कांग्रेसले स्पष्ट पारेको छ। भ्रमणको सफलता नेपालको सफलतासँग जोडिएको भन्दै कांग्रेसले यसलाई औपचारिक स्वागत र संयुक्त वक्तव्यमा मात्र सीमित नराखी दीर्घकालीन सहकार्यको आधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ। ‘भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाले होइन, नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्ण सफलताको कामनासमेत गरेको छ।