काठमाडौं। अमेरिकी अनुदान सहयोगमा निर्माण भइरहेको ४०० केभी क्षमताको न्यू बुटवल-न्यू दमौली प्रसारण लाइनको निर्माण सुरु भएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले शुक्रबारदेखि तनहुँ र पाल्पाबाट प्रसारण लाइन निर्माणको काम अघि बढाइएको जनाएको हो।
न्यू दमौली सबस्टेसनदेखि न्यू बुटवल सबस्टेसनसम्म निर्माण हुने यो प्रसारण लाइन करिब ९० किलोमिटर लामो हुनेछ। दोहोरो सर्किटयुक्त प्रसारण लाइनका लागि तनहुँ, पाल्पा, नवलपुर र नवलपरासीमा २५० वटा टावर निर्माण गरिनेछ।
यो खण्ड एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण भइरहेको ३१५ किलोमिटर लामो विद्युत् प्रसारण सञ्जालको हिस्सा हो। प्रसारण आयोजनाअन्तर्गत न्यू बुटवल, न्यू दमौली र रातमाटेमा ४०० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ।
एमसीए–नेपालका अनुसार यो प्रसारण सञ्जालले देशभित्र उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न र विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो बनाउन सहयोग गर्नेछ। विशेषगरी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रसारण गर्न अहिले देखिएका पूर्वाधारसम्बन्धी अवरोध कम गर्ने अपेक्षा गरिएको छ।
न्यू दमौली–न्यू बुटवल खण्ड निर्माणको ठेक्का वाइबा–सलासार जेभीले पाएको हो। ठेक्का सम्झौता करिब ७ करोड ५० लाख अमेरिकी डलरको छ। सम्झौताअनुसार कम्पनीले निर्माण सुरु भएको मितिले ४२ महिनाभित्र काम पुरा गर्नुपर्नेछ।
समग्र विद्युत् प्रसारण आयोजनामा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ। नेपाल सरकारले त्यसमा १९ करोड ७० लाख डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। प्रसारण लाइन र सबस्टेसन निर्माणसँगै नेपाल विद्युत् प्राधिकरण तथा विद्युत् नियमन आयोगको प्राविधिक क्षमता अभिवृद्धि पनि आयोजनाको हिस्सा हो।