काठमाडौं। सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त खुलेको छ। सिफारिस गर्न गठित समितिले शनिबारदेखि दरखास्त आह्वान गरेको हो। सार्वजनिक सेवा प्रसारण संस्था सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ बमोजिम नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सरकारले बनाएको स्वायत्त संस्था हो।
आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, बजार व्यवस्थापन वा सूचना प्रविधि वा प्रसारण सम्बन्धी इञ्जिनियरिङ क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने तोकिएको छ।
आवेदक ३५ वर्ष उमेर पुगेर ६० ननाघेको हुनुपर्छ। सम्बन्धित क्षेत्रमा एक वर्षभन्दा बढी अवधि काम गरेको अनुभव खुल्ने प्रमाणित कागजात, कार्यविधिको अनुसूची-१ बमोजिमको आवेदन विवरण, नेपाली नागरिकताको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, सम्पर्क खुल्ने व्यक्तिगत विवरण, दुईप्रति पासपोर्ट साइजको फोटो, अनुसूची-२ बमोजिमको स्वःघोषणा र अन्य सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्छ।
नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र आमसञ्चार संस्थाको पदाधिकारी, सञ्चालक वा सम्पादक नरहेको हुनुपर्छ। उम्मेदवारले संस्थाको अवधारणा पत्र, विद्यमान समस्या, चुनौती र अवसरसहितको व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्छ। आवेदन दिने म्याद मंसिर २२ गतेसम्म छ।