BIZMANDU
www.bizmandu.com

चिराइतोको उत्पादन बढ्यो, मूल्य घट्यो, भोजपुरका किसान बजार नपाउँदा चिन्तित

२०८३ मंसिर ५

चिराइतोको उत्पादन बढ्यो, मूल्य घट्यो, भोजपुरका किसान बजार नपाउँदा चिन्तित
चिराइतोको उत्पादन बढ्यो, मूल्य घट्यो, भोजपुरका किसान बजार नपाउँदा चिन्तित

भोजपुर। चिराइतोको मूल्य घटेपछि भोजपुरमा किसान तथा व्यवसायी चिन्तित छन्। पोहोरका तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि चिन्ता बढेको हो।

GBIME
Tata

टेम्केमैयुङ-१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रति मन (४० केजी) २० हजार रुपैयाँका दरले कारोबार भइरहेको छ। पोहोर प्रति मन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो।

गत वर्षको तुलनामा मनको ५ देखि १० हजार रुपैयाँसम्म मूल्य घट्दा चिन्ता परेको उनको भनाइ छ। यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ। टेम्केमैयुङ–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको जानकारी उनले दिए।

उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको उनको भनाइ छ। यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो संकलन गरिसकेको उनले बताए। आफ्नै घरमासमेत बिक्रीका लागि करिब १० मन चिराइतो राखेका उनले बिक्री गर्न तयार भए पनि किसानले अपेक्षित लाभ लिन नसकेको बताए।

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले यस वर्ष मूल्य घटेको राउतको भनाइ छ। चिराइतोको बजार माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ। बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामासमेत किसानले राम्रो मूल्य पाउन नसक्ने समस्या छ।

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्त्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो। यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो संकलन गरेर बेच्ने गरेका छन्। विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको दरिलो स्रोत छ।

चिराइतोखेती तथा संकलनबाट किसानले परम्परागत बालीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन्। यसको उत्पादन, संकलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन्। तर बजार मूल्यमा हुने उतारचढाव तथा निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ। रासस