BIZMANDU
www.bizmandu.com

एनपीएलको उपाधि भीडन्तमा सुदूरपश्चिम र लुम्बिनी: टिकट सोल्डआउट, कसको पल्ला भारी?

२०८३ मंसिर ४

एनपीएलको उपाधि भीडन्तमा सुदूरपश्चिम र लुम्बिनी: टिकट सोल्डआउट, कसको पल्ला भारी?
एनपीएलको उपाधि भीडन्तमा सुदूरपश्चिम र लुम्बिनी: टिकट सोल्डआउट, कसको पल्ला भारी?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि जित्न शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धामा उत्रँदैछन्। यी दुई उपाधिका लागि भिड्न लागेको यो लगातार दोस्रो सिजन हो।

GBIME
Tata

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे खेल सुरु हुँदैछ। खेलको टिकटले भने विवाद निम्ताएको छ। शुक्रबार दिउँसो १ बजे फाइनलको टिकट खुला भएलगत्तै सोल्डआउट भएको थियो। क्रिकेट समर्थकहरूले भने टिकट नपाइएको भन्दै स्टेडियममा पुगेर प्रदर्शन गरे।

यता नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति निकाल्दै टिकट बिक्री खोल्न साथ २ लाख प्रयोगकर्ताले टिकट लिन खोज्दा केही मिनेटमै टिकट सोल्डआउट भएको जनाएको छ। क्यानले समर्थकलाई घरमै बसेर खेल हेर्न आग्रह गरेको छ।

यता फाइनल पुगेका दुई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल साँझ फोटोसुटपछि टियू मैदान पुगे। सुदूरपश्चिमका कप्तान ऐरीले लुम्बिनीको बलिङ अट्याक बलियो भएको तर त्यसका लागि रणनीति बनाएको बताए। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले पछिल्ला केही खेलमा सुदूरपश्चिमलाई हराएको भए पनि फाइनलमा सुरुबाट खेल्नुपर्ने भएकाले चुनौतीका लागि तयार भएको बताए।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी।

लुम्बिनीले गएको संस्करणमा सुदूरपश्चिमलाई नै हराएर उपाधि जितेको थियो। यो संस्करणमा पनि लुम्बिनीले दुई पटक सुदूरपश्चिमलाई हराइसकेको छ।

सुदूरपश्चिमले एनपीएलका दुई पटक फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन। यसपाला पनि सुदूरपश्चिम लिगको उपाधिका लागि प्रतिस्पर्धामा उत्रिँदैछ।

सुदूरपश्चिमलाई फानल पुग्दाको खुशी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

लुम्बिनी कथा अझ रोचक छ। पहिलो सिजन लुम्बिनीका लागि विर्सनलायक थियो। विदेशी खेलाडीको प्रदर्शन राम्रो भएन। जितिसकेका खेल गुमे। लगातारका खेलले दबाब पनि पर्‍यो।

दोस्रो सिजनको सुरुसम्म पनि त्यही लय थियो। लुम्बिनी एकाएक सम्हालियो। जहाँबाट एउटै हार अफोर्ड गर्न नसकिने स्थिति आयो त्यहीबाट लुम्बिनीले एकपछि अर्को जित निकाल्यो। फाइनल पुग्यो र च्याम्पियन बन्यो। दोस्रो संस्करणको निक्कै पछिसम्म पनि लुम्बिनीलाई उपाधिको दाबेदार मानिएकै थिएन।

दुई सिजन फाइनल खेलेका यी दुई टोलीमा केही चाखलाग्दा समानता छन्। यी दुबैमा टोलीको सन्तुलन राम्रो छ। अन्य टोली नतिजामा सीमित खेलाडीमा निर्भर रहँदा यी दुईमा खेलैपिच्छे फरक म्याचविनर बन्न सक्छन्। विदेशी खेलाडी अघिल्ला संस्करणबाटै सँग खेल्दै आएका खेलाडी हुँदा अझ राम्रो तालमेल छ।

यो संस्करणमा यी दुई टोली दुई पटक भिडिसकेका छन्। एउटा उद्घाटन खेलमा र अर्को पहिलो क्वालिफायरमा। दुबैमा जित लुम्बिनीले निकाल्यो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र लुम्बिनीको प्रतिस्पर्धा

विदेशी खेलाडीमा सुदूरपश्चिमका स्कट कुगेलेइन र नेपाली खेलाडीमा दिपेन्द्रसिंह ऐरी ‘की प्लेयर’ बन्दै आएका छन् भने लुम्बिनीमा विदेशीमा निरोशन डिक्वेला र रुबेन ट्रम्पलमेन तथा नेपालीमा रोहित पौडेल र शेर मल्ल महत्त्वपूर्ण छन्।

सुदूरपश्चिमका आरिफ शेख, इशन पाण्डे र विनोद भण्डारीले लय समाते ब्याटिङ डेप्थ गहिरो छ। जहाँ लुम्बिनीविरुद्ध अन्य टोलीले स्कोर गर्नै संघर्ष गरिरहेका छन्। सुदूरपश्चिमको पहिचान हो बलियो फिल्डिङ तर पछिल्लो केही खेलमा यही कमजोरीका रूपमा पनि देखिँदै आएको छ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल।

‘यसअघिका तीन खेल हामीले जितेका छौँ तर त्यसअघिका दुई खेल उहाँहरूले पनि जित्नु भएको छ। क्रिकेट हो जे पनि हुन सक्छ। अहिले हामी राम्रो खेलिरहेका छौँ। तर, पछिल्ला तीन खेलमा के भयोले फाइनल खेलमा अर्थ राख्दैन।’ लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले भने, ‘भोलिको दिनमा राम्रो खेल्नै पर्छ।’