BIZMANDU
www.bizmandu.com

निजी क्षेत्रलाई लगानीको गियर बदल्न अर्थमन्त्रीको आग्रह, ‘लगानी सुरक्षा सरकारको जिम्मेवारी’

२०८३ मंसिर ४

निजी क्षेत्रलाई लगानीको गियर बदल्न अर्थमन्त्रीको आग्रह, ‘लगानी सुरक्षा सरकारको जिम्मेवारी’
निजी क्षेत्रलाई लगानीको गियर बदल्न अर्थमन्त्रीको आग्रह, ‘लगानी सुरक्षा सरकारको जिम्मेवारी’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि हुने बताएका छन्। उनले शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा सरकारले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा ग्रहण गरेको बताए।

GBIME
Tata

मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राख्दै सरकारी निकायमा अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप वा कानुनसम्मत काममा अवरोध भए सरकारलाई जानकारी गराउन निजी क्षेत्रलाई आग्रह गरे।

‘सरकारी कार्यालयमा बिचौलियको हस्तक्षेप र भ्रष्टाचारका विषयमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ। यस्तो कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाही हुन्छ,’ उनले भने।

वाग्लेले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानी सुरक्षा सरकारको आधारभूत जिम्मेवारी भएको उल्लेख गर्दै असुरक्षाको अनुभूति भए सरकारले सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता जनाए।

उनले निजी क्षेत्रको सहकार्यमा सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार, आधुनिक प्रविधि, कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउनुपर्ने बताए। उनले आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनसँग जोडिने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गरे।

वाग्लेले निजी क्षेत्रलाई नयाँ उद्योग खोल्न, प्रविधि अपनाउन, वस्तु तथा उत्पादनको गुणस्तर बढाउन, नयाँ निर्यात बजार खोज्न र रोजगारी सिर्जना गर्न आग्रह गर्दै राज्यले कार्यशैली बदल्ने समयमा निजी क्षेत्रले लगानीको गियर बदल्नुपर्ने बताए।

मन्त्री वाग्लेले विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चाैकी (आइसीपी) अवलोकन गरेका छन्। विराटनगर राजस्व संकलन धेरै गर्ने देशको तेस्रो ठूलो भन्सार कार्यालय हो।