BIZMANDU
www.bizmandu.com

तिहारको ट्राभल कम्प्यानियन बनेको यामाहाको एक्सएसआर १५५, दैनिक काम र विकेन्ड राइड दुवैका लागि पर्फेक्ट

२०८३ मंसिर ४

तिहारको ट्राभल कम्प्यानियन बनेको यामाहाको एक्सएसआर १५५, दैनिक काम र विकेन्ड राइड दुवैका लागि पर्फेक्ट
तिहारको ट्राभल कम्प्यानियन बनेको यामाहाको एक्सएसआर १५५, दैनिक काम र विकेन्ड राइड दुवैका लागि पर्फेक्ट

दैनिक कार्यालय आउजाउदेखि बिदाको दिन पहाडतिर घुम्न निस्कनेसम्म, मोटरसाइकल चलाउनेका लागि पर्फर्मेन्स, माइलेज र कम्फर्ट तीनवटै कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छन्। शहरको ट्राफिकमा सहज होस्, उकालोमा दमदार पर्फर्मेन्स देओस् र लामो यात्रामा थकान कम होस् भन्ने चाहना हरेक राइडरको हुन्छ।

GBIME
Tata

यही अपेक्षालाई लिएर यामाहाको नयाँ एक्सएसआर १५५ सँगको राइड सुरु भयो। नक्सालस्थित यामाहाको शोरुमबाट सुरु भएको यात्रा बालाजु, चाबहिल हुँदै साँखुको बाटो समातेर जर्सिङपौवासम्म पुग्यो। शहरको भिडभाड, खुला सडक, घुम्ती र उकालो हुँदै पहाडी गन्तव्यसम्म पुग्दा यो बाइकलाई फरक-फरक परिस्थितिमा अनुभव गर्ने मौका मिल्यो।

नक्सालबाट यात्रा सुरु गर्दा काठमाडौंको ट्राफिकमा बाइकको व्यवहार कस्तो हुन्छ भन्ने अनुभव गर्न पाइयो। दैनिक कम्युटका लागि बाइक छान्दा यसको तौल, ह्यान्डलिङ, गियर परिवर्तन र ट्राफिकमा चलाउन सहज हुने पक्ष महत्त्वपूर्ण हुन्छन्।

एक्सएसआर १५५ चलाउँदा सहरभित्रको सामान्य आवतजावतमा पनि सहज अनुभव भयो। ट्राफिकबाट निस्केर खुला सडकमा पुग्दा यसको इन्जिनले दिने पर्फर्मेन्स र एक्सेलेरेसनले यात्रालाई थप रमाइलो बनाउँछ।

शहरको दैनिक यात्राका लागि आवश्यक सहजता र लामो राइडमा चाहिने पर्फर्मेन्सबीच सन्तुलन खोज्ने राइडरका लागि यसको अनुभव सकारात्मक रह्यो।

यसरी जर्सिङपौवा पुग्दा चौरमुनि बादल र माथि टल्किरहेका पहाडको मनमोहक दृश्यले यात्रालाई थप रमाइलो बनायो। बाइक राइडिङको मज्जा केवल गन्तव्यमा पुग्नुमा मात्रै सीमित हुँदैन, बाटोमा भेटिने दृश्य, हावाको स्पर्श र बाइकसँगको तालमेलमा पनि हुन्छ। एक्सएसआर १५५ सँगको यो यात्रा पनि त्यस्तै अनुभव बन्यो।

यो बाइकसँगको अनुभव जर्सिङपौवा पुगेर मात्रै सकिएन। तिहार बिदामा घर जाँदा सिन्धुपाल्चोकको गुफा डाँडासहित विभिन्न रमणीय ठाउँमा यात्रा गर्ने अवसर मिल्यो।

यात्राका क्रममा धेरैजसो कालोपत्रे सडक भए पनि केही खण्डमा अफरोड बाटो पनि पार गर्नुपर्‍यो। गुफा डाँडा पुग्ने बाटो विशेषगरी ठाडो उकालो थियो। यस्तो बाटोमा बाइकको पावर र ग्रिपको वास्तविक परीक्षण हुन्छ।

दुई जना बसेर यात्रा गर्दा पनि बाइकले उकालोमा राम्रो पर्फर्मेन्स दियो। अप्ठ्यारो बाटोमा इन्जिनले पर्याप्त पावर उपलब्ध गराउँदा राइडरलाई बाइकको क्षमतामाथि भरोसा गर्न सहज हुन्छ। कालोपत्रे सडकमा मात्रै नभई सामान्य अफरोड र पहाडी उकालोमा समेत यसको पर्फर्मेन्सले साथ दिएको अनुभव भयो।

माइलेजसहित सस्पेन्सन चित्त बुझ्दो

मोटरसाइकलको पर्फर्मेन्ससँगै नेपाली बजारमा माइलेज पनि हामीले निकै ध्यान दिने पक्ष हो। विशेषगरी दैनिक कम्युट गर्ने र बेलाबेला लामो यात्रा गर्नेका लागि पेट्रोल खर्च महत्त्वपूर्ण हुन्छ।

एक्सएसआर १५५ चलाउँदा एक लिटर पेट्रोलमा ४० किलोमिटरभन्दा बढी माइलेज प्राप्त भयो। कम्पनीले यसको माइलेज प्रतिलिटर ४५ किलोमिटर दाबी गरेको छ। वास्तविक सडकमा प्राप्त माइलेज कम्पनीको दाबीको नजिक देखियो।

शहर, उकालो, खुला सडक र यात्राको अवस्थाअनुसार माइलेज फरक पर्न सक्छ। तर पर्फर्मेन्सका लागि बनाइएको मोटरसाइकलमा ४० किलोमिटरभन्दा माथिको माइलेज प्राप्त हुनु सन्तोषजनक मानियो।

राइडिङका क्रममा गियर परिवर्तन गर्दा बाइकले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुराले पनि यात्राको अनुभव निर्धारण गर्छ। एक्सएसआर १५५ मा उपलब्ध असिस्ट एन्ड स्लिपर क्लचले गियर सिफ्टिङलाई सहज बनाउने काम गर्छ।

गियर परिवर्तन गर्दा क्लचमा कडा अनुभव नहुने र गियर सिफ्टिङ स्मुथ महसुस हुने यसको अर्को सकारात्मक पक्ष हो। ट्राफिकमा पटक-पटक गियर परिवर्तन गर्नुपर्ने अवस्थामा होस् वा पहाडी घुम्तीमा राइड गर्दा, क्लचको सहजताले राइडिङलाई कम झन्झटिलो बनाउँछ।

विशेषगरी लामो यात्रा गर्दा गियर र क्लचमा सहज अनुभव हुनु राइडरका लागि महत्त्वपूर्ण हुन्छ। त्यो कुरा यसमा बुझेको देखिन्छ।

नेपालका सडक सबै ठाउँमा एउटै अवस्थामा छैनन्। सहरभित्रका सडकदेखि पहाडी बाटो, खाल्डाखुल्डी र अफरोडसम्म यात्रा गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा मोटरसाइकलको सस्पेन्सनले यात्राको आराम र नियन्त्रणमा ठूलो भूमिका खेल्छ।

एक्सएसआर १५५ मा प्रयोग गरिएको सस्पेन्सन सेटअपले अनरोड र अफरोड दुवैमा राम्रो अनुभव दियो। यसमा अपसाइड डाउन फ्रन्ट  कालोपत्रे सडकमा सहज राइडिङसँगै उबडखाबड बाटोमा पनि सस्पेन्सनले सडकको झट्का कम महसुस गराउन सहयोग गर्छ।

गुफा डाँडातर्फको उकालो र बाटोका केही अप्ठ्यारा खण्ड पार गर्दा सस्पेन्सनको उपयोगिता अनुभव गर्न पाइयो। बाइकको सस्पेन्सन र ह्यान्डलिङबीचको तालमेलले यात्रा थप सहज बनायो।

डिजाइनले तान्ने ध्यान

एक्सएसआर १५५ को सबैभन्दा आकर्षक पक्ष यसको नियो-रेट्रो डिजाइन हो। पुरानो मोटरसाइकलको झल्को दिने डिजाइनलाई आधुनिक फिनिसिङसँग जोडिएको छ। सडकमा चलिरहेका सामान्य कम्युटर बाइकभन्दा फरक देखिने यसको डिजाइनले बाइकलाई यातायातको साधनभन्दा पनि लाइफस्टाइलको हिस्सा बनाउने प्रयास गरेको छ।

आधुनिक प्रविधि र क्लासिक मोटरसाइकलको झल्को दिने टाइमलेस निओ रेट्रो डिजाइनको संयोजनले यसलाई सडकमा अलग देखाउँछ।

बाइकको पर्फर्मेन्ससँगै यसको डिजाइनलाई पनि प्राथमिकता दिने राइडरका लागि यो एउटा बलियो पक्ष हो।

नयाँ इन्जिनले दिने आवाज र पर्फर्मेन्स पनि राइडिङ अनुभवको महत्त्वपूर्ण हिस्सा हो। एक्सएसआर १५५ मा इन्जिनको प्रतिक्रिया, एक्सेलेरेसन र आवाजबीच राम्रो सन्तुलन अनुभव भयो।

यसमा यामाहाको प्रमाणित १५५ सीसी लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ। भेरिएबल भल्भ एक्टुएसन (भीभीए) प्रविधिसहितको यो इन्जिनले पर्फर्मेन्स, इन्धन दक्षता र रिफाइनमेन्टबीच सन्तुलन कायम गर्ने कम्पनीको दाबी अनुसार मैद्ये राइड गर्दा पनि केही हदसम्म उक्त चिज अनुभव गर्न पाए। दैनिक सहरमा चलाउँदा सहज र आवश्यक पर्दा स्पोर्टी राइडिङ अनुभव दिने यसको विशेषता हो।

उकालोमा पावर आवश्यक पर्ने अवस्था र खुला सडकमा गति बढाउँदा इन्जिनले दिने प्रतिक्रियाले बाइक चलाउन थप रमाइलो बनाउँछ। बाइकको आवाज पनि यसको राइडिङ अनुभवसँग मेल खाने किसिमको लाग्छ।

यामाहाको रेसिङ इन्जिनियरिङ र पर्फर्मेन्स बाइकहरूमा प्रयोग हुँदै आएको प्रविधिको प्रभाव यसमा देखिन्छ। त्यसैले सामान्य कम्युटिङसँगै राइडिङको मजा लिन चाहने ग्राहकलाई यसले आकर्षित गर्न सक्छ। तर यसको मूल्य भने ५ लाख ३५ हजार रुपैयाँदेखि सुरु छ। त्यसैले भ्यालु फर मनी भन्ने त्यस्तो ठूलो आधार भने भेटिन्न।

दैनिक कम्युट र विकेन्ड राइड दुवैका लागि ठिक

नक्सालबाट सुरु भएको राइड जर्सिङपौवा हुँदै तिहारमा सिन्धुपाल्चोकका रमणीय ठाउँसम्म पुग्दा करिब २०० किलोमिटरभन्दा धेरै एक्सएसआर १५५ लाई फरक सडक र परिस्थितिमा चलाउने अवसर मिल्यो।

शहरको दैनिक कम्युट, खुला सडकको राइड, पहाडी उकालो, सामान्य अफरोड, दुई जना बसेर यात्रा, माइलेज र कम्फर्ट सबै पक्षलाई अनुभव गर्दा यो बाइक दैनिक प्रयोग र विकेन्ड राइड दुवैलाई ध्यानमा राखेर रोज्न सकिने मोटरसाइकलका रूपमा देखियो।

मोटरसाइकल केवल कार्यालय पुग्ने साधन मात्रै नभई बिदाको दिन नयाँ ठाउँ घुम्न निस्कने कम्प्यानियन पनि हो। एक्सएसआर १५५ सँगको यो यात्रा त्यही अनुभवको उदाहरण बन्यो।

१५५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धी बाइकको तुलनामा राम्रो माइलेज, कम वार्षिक कर र ६ गियरको ट्रान्समिसनलाई पनि यसको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। दैनिक बाइक चलाउने ग्राहकका लागि इन्धन खर्च र नियमित सञ्चालन लागत महत्त्वपूर्ण हुने भएकाले यी पक्षले एक्सएसआर १५५ लाई व्यावहारिक विकल्प बनाउन सक्छन्।