काठमाडौं। स्थानीय तह र प्रदेश सभाको निर्वाचनलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अरु पार्टीको मत बाझिएको छ।
निर्वाचन आयोगले शीर्ष नेताहरुलाई बोलाएर शुक्रबार गरेको छलफलमा दलहरुको मत बाझिएको हो। आयोगले स्थानीय तहको निर्वाचन वैशाख र प्रदेश सभाको चुनाव मंसिरमा गर्न प्रस्ताव गरेकामा रास्वपाले दुवै एकैपटक गर्नुपर्ने बताएको छ।
तर नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आयोगको प्रस्तावको पक्षमा उभिएका छन्। उनीहरुले स्थानीय र प्रदेश सभाको निर्वाचन एकैपटक नभइ फरक फरक मितिमा गर्नुपर्ने बताएका छन्।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल लगायत नेता सहभागी थिए।
‘सरकारले मैले मात्र जानेको छु। म एक्लै गर्छु भन्ने अरु कुरामा चल्न सक्ला तर चुनाव गर्ने कुरामा चल्दैन,’ कांग्रेस सभापति थापाले भने।
स्थानीय र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने कि अलग अलग समयमा गर्ने भन्ने विषयमा राजनीतिक संयन्त्रमा सहमति जुटाउने समझदारी भएको छ।