BIZMANDU
www.bizmandu.com

सोमबार बालेन र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने, आइतबार जयशंकरसँग छलफल

२०८३ मंसिर ४

सोमबार बालेन र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने, आइतबार जयशंकरसँग छलफल
सोमबार बालेन र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने, आइतबार जयशंकरसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर २२ गते भारतको २ दिने राजकीय भ्रमणमा जाने भएका छन्।

GBIME
Tata

आज परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव अमृत राईले शाह आइतबार मध्यान्ह १:४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको बताएका हुन्।

उनको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायत उच्च पदस्थ सरकारी अधिकारीहरु रहनेछन्।

नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमणदल ३४ सदस्यीय रहेको छ। त्यसमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्यहरू थप हुनेछन्।

भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा सहभागी हुनेछन्। यसैगरी भ्रमणको रिपोर्टिङका लागि निजी खर्चमा नेपालका विभिन्न सञ्चार माध्यमहरूलाई प्रतिनिधित्व गर्दै पत्रकारहरू पनि जाँदैछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ। भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उदघाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

नेपालको लागि भारत ठूलो र महत्त्वपूर्ण विकास साझेदार हो। दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ।

भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन, मानव संसाधन विकास जस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा रहेको मन्त्रालयले जनाएको छ।

नेपाल भारतबीच रहिआएको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावनाअनुरूप दुवै देशका प्रधानमन्त्रीहरूले नेपाल र भारतका लागि महत्त्वपूर्ण रहेका समग्र विषयमा छलफल हुने परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ।

द्विपक्षीय वार्ता पश्चात् विभिन्न विषयहरू समावेश गरी दुई प्रधानमन्त्रीज्यूहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवा भोज पनि आयोजना गर्ने भएका छन्।

सोही दिन भ्रमणका अवसरमा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रोपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको छ।

त्यसअघि आइतबार भने शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच शिष्टाचार भेट हुने पनि तय भएको छ।

यससँगै भ्रमणका अवसरमा शाहले नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम समेत तय भएको छ।

भ्रमणका क्रममा नेपाल-इन्डिया बिजनेस फोरमको छलफल कार्यक्रम हुने तय भएको छ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने र नेपाल सरकारको तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिने परराष्ट्रले जनाएको छ। यो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु पनि बन्ने अपेक्षा सरकारको छ।

भारतको राजकीय भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ १८:३५ बजे काठमाडौं फर्किनेछन्।

भ्रमणबाट प्राप्त हुने उपलब्धिहरूले हाम्रो द्विपक्षीय साझेदारीलाई थप गति प्रदान गर्नुका साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस लाभ प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको परराष्ट्रले जनाएको छ।

‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्। हाम्रा दुई देशबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको छ। आसन्न भ्रमणले नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्न समेत महत्त्वपूर्ण हुने विश्वास गरिएको छ,’ सचिव राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भ्रमण पश्चात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस ब्रिफिङ कार्यक्रमको आयोजना गरिने परराष्ट्रले जनाएको छ।