काठमाडौं। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षतिसँगै सडक र पुल बगाएपछि रसुवाको जनजीवन अस्तव्यस्त बन्यो। यातायात सम्पर्क अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक जीवनयापनदेखि कृषि, पर्यटन, जलविद्युत् र चीनसँगको सीमापार व्यापारसम्म प्रभावित भयो। यसको प्रत्यक्ष मारमा परे त्यहाँका किसान।
त्यहाँका कृषि उत्पादन बजारसम्म पुग्न नसक्दा बारीमै कुहिन थाले। त्यस्तो कठिन परिस्थितिमा केही युवा भने जिल्लालाई पुनः बजारसँग जोड्ने र किसानको उत्पादनलाई उचित मूल्यमा बिक्री गर्ने अभियानमा जुटेका छन्।
‘टेस्ट रसुवा’ नामबाट संगठित युवाले स्थानीय कृषि उपज, प्राकृतिक उत्पादन तथा हिमाली क्षेत्रका उत्पादनलाई बजारसम्म पुर्याउन पहल थालेका हुन्। सडक पहुँच भएका स्थानबाट गाडीमार्फत र सडक सम्पर्क टुटेका क्षेत्रबाट बोकेरै कृषि उपज ढुवानी गर्दै आएका उनीहरूको प्रयासले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने आशा जगाएको हो।
टेस्ट रसुवाका अगुवा तथा आमाछोदिङ्मो गाउँपालिकाका युवा हेसेथाय तामाङका अनुसार बाढीपछि रसुवाको जनजीवन सामान्य अवस्थामा फर्कन सकेको छैन। कृषि र पर्यटनमा निर्भर स्थानीय बासिन्दाको आम्दानीका स्रोत प्रभावित भएका छन् भने उत्पादन बिक्री गर्न नपाउँदा किसान थप समस्यामा परेका छन्।
‘रसुवा फेरि उठ्नुपर्छ, त्यसैले हामी स्थानीय युवाहरूको पहलमा यहाँका उत्पादन बजारसम्म पुर्याउन र कृषि क्षेत्रलाई पुनः चलायमान बनाउन लागिरहेका छौं,’ तामाङ भन्छन्।
पुल बगाएपछि बजार नै ‘डिस्कनेक्ट’
भोटेकोशीको बाढीले रसुवाको भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्यायो। विशेषगरी आमाछोदिङ्मो गाउँपालिकाका तीनवटै पुल बगाएपछि स्थानीय बासिन्दाको आवतजावत कठिन बनेको छ। सडक र पुलको सम्पर्क टुट्दा गाउँमा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको छ।
स्थानीयवासीले श्रमदानबाट काठका फट्के तथा तुइन निर्माण गरेर आवतजावतको वैकल्पिक व्यवस्था गरेका छन्। तर, यी अस्थायी संरचनाबाट मानिसको सहज आवतजावतमा चुनौती छ। भारी बोकेर हिँड्नुपर्ने किसानका लागि त कृषि उत्पादन बजारसम्म पुर्याउन झन कठिन बनेको छ।
यही समस्यालाई ध्यानमा राखेर टेस्ट रसुवाका युवा किसानसँगै खेतबारीबाट उत्पादन संकलन गर्ने र सडक पहुँच भएको स्थानसम्म बोकेरै ल्याउने काममा जुटेका छन्। यसरी उत्पादन आफै बोकेर ल्याउने किसान तथा स्थानीयलाई अतिरिक्त पारिश्रमिकसमेत दिने तामाङ बताउँछन्। यसले ढुवानी खर्च बढाए पनि स्थानीयलाई आम्दानीको अवसर दिने र बजारमा कृषि उपजको आपूर्ति कायम राख्ने अपेक्षा टेस्ट रसुवाको छ।

बारीमा कुहिँदै तरकारी
रसुवाको आमाछोदिङ्मो गाउँपालिका कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो। यहाँ आलु, बन्दा, मकै, भटमासलगायतका कृषि उपज उत्पादन हुन्छन्। गाउँपालिकाको वडा नम्बर ३ आलु उत्पादनका लागि प्रख्यात छ भने वडा नम्बर ५ को चिलिमे क्षेत्रमा लसुन र प्याज उत्पादन हुन्छ।
तर, सडक र पुल अवरुद्ध हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सकेका छैनन्। खेतबारीमा तयार भएका तरकारी तथा खाद्यान्न बिक्री गर्न नपाउँदा कुहिएर खेर गएका छन्। मुख्य चाडपर्वको समयमा बजारमा माग बढ्ने भए पनि सडक सम्पर्क टुटेका कारण किसानले त्यसको लाभ लिन पाएनन्।
टेस्ट रसुवाले आलु, बन्दा, लसुन, प्याज, भटमास, मकैसँगै स्थानीय फलफूल, तरकारी तथा प्राकृतिक उत्पादनलाई बजारसम्म पुर्याउने अभियान सुरु गरेको एक महिनामै बाढी आएपछि उत्पादन ढुवानीको काम प्रभावित भएको तामाङ बताउँछन्।
उनका अनुसार अहिले रसुवाका सबै पालिकाका किसान टेस्ट रसुवासँग जोडिन थालेका छन्। उत्पादन बिक्री गर्न नसकिरहेका साना किसानलाई बजारको पहुँच दिलाउनु अहिले अभियानको प्रमुख उद्देश्य बनेको छ।

बिचौलियाको निर्भरता घटाउँदै किसानलाई उचित मूल्य
विगतमा रसुवाका कृषि उपज किसानबाट संकलन गरेर बिचौलियामार्फत थोक बजारमा पुग्ने गरेका थिए। त्यसपछि थोक विक्रेता हुँदै खुद्रा बजारमा आइपुग्दा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था थियो। जसका कारण किसानले उचित मूल्य पाउन सकेका थिएनन्।
यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले टेस्ट रसुवाले किसानको खेतबारीबाटै कृषि उपज संकलन गरी बजारमा सिधै बिक्री गर्ने योजना अघि सारेको छ। यसबाट बिचौलियाको तह घट्ने, किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तोमा कृषि उपज खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।
‘हामी किसानको श्रमको सम्मान गर्दै उनीहरूलाई उचित मूल्य दिन चाहन्छौं। रसुवा टुटेको छ, तर अब उठ्छ, यहाँको उत्पादन थोक बजारमा मात्र निर्भर नभई खुद्रा बजारसम्म पुर्याएर बिक्री गर्ने हाम्रो योजना छ,’ तामाङ भन्छन्।
टेस्ट रसुवाले काठमाडौंमा रहेका रसुवाका किसानका छोराछोरीलाई समेत कृषि उपज बिक्रीमा सहभागी गराउने योजना बनाएको छ। काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा रसुवाका उत्पादन बिक्री गर्न आफ्नै स्टल सञ्चालन गर्ने विषयमा छलफल भएको तामाङले जानकारी दिए। यसले किसानको उत्पादनलाई उपभोक्तासम्म सिधै पुर्याउने र स्थानीय उत्पादनको बजार विस्तार गर्ने उनको विश्वास छ।
ढुवानीको वैकल्पिक उपाय
बाढीले सडक र पुल बगाएपछि कृषि उपज ढुवानीका लागि वैकल्पिक उपाय खोज्न टेस्ट रसुवाका युवाले पहल गरे। राहत सामग्री पुर्याउन प्रयोग भएको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को हेलिकप्टर फर्कँदा खाली हुने गरेको जानकारी पाएपछि युवाहरूले त्यसैमार्फत रसुवाका कृषि उत्पादन काठमाडौंसम्म ल्याउन पहल गरे।
राहत बोकेको हेलिकोप्टरमार्फत कृषि उपज ढुवानी गरेर कृषकहरुलाई केही राहत दिएको तामाङ बताउँछन्। किसान आफैंले पहुँच मार्गसम्म उत्पादन बोकेर ल्याउने वा स्थानीयलाई ढुवानीमा सहभागी गराएर उनीहरूको श्रमको भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।
सामान्य अवस्थामा ढुवानीको लागत बढे पनि बिचौलिया र थोक विक्रेताको नाफामा जाने रकमको केही हिस्सा स्थानीय श्रममा खर्च गर्दा किसान तथा स्थानीय बासिन्दाले थप आम्दानी गर्न सक्ने टेस्ट रसुवाको बुझाइ छ।

सरकारी निकाय र संस्थासँग सहकार्यको प्रयास
स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउने अभियानलाई प्रभावकारी बनाउन टेस्ट रसुवाले विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), मेरो किसान कार्यक्रम र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँग छलफल गरी सहजीकरणका लागि आग्रह गरेको छ।
सरकारी निकाय तथा स्थानीय तहसँग पनि कृषि उपजको ढुवानी, बजारीकरण र किसानलाई सहयोग गर्ने विषयमा पटकपटक आग्रह गरिएको तामाङ बताउँछन्। अपेक्षित सहयोग नपाएपछि युवाहरू आफ्नै पहलमा अभियानलाई निरन्तरता दिन बाध्य भएको उनको भनाइ छ।
टेस्ट रसुवामा हाल हेसेथाय तामाङ, पासाङ तामाङ र सैलेन्द्र तामाङ सक्रिय रूपमा काम गरिरहेका छन्। उनीहरूसँगै रसुवाका अन्य युवा पनि अभियानमा जोडिएका छन्। हाइड्रोपावर क्षेत्रमा कार्यरत, बैंकिङ क्षेत्रमा संलग्न तथा इन्जिनियरिङ पेसामा रहेका युवाहरूले समेत आफ्नो जिल्लाको कृषि क्षेत्रलाई पुनर्जिवित गर्न साथ दिइरहेका छन्।
कृषि र पर्यटन प्रभावित हुँदा रसुवाको जनजीवन संकटमा
रसुवाको अर्थतन्त्रमा कृषि, पर्यटन, जलविद्युत् र चीनसँगको सीमापार व्यापारको महत्वपूर्ण योगदान छ। तर, बाढीपछि यी क्षेत्र प्रभावित हुँदा स्थानीय बासिन्दाको आम्दानी र रोजगारीमा गम्भीर असर परेको छ। पर्यटन गतिविधि सुस्ताएको, सीमापार व्यापार प्रभावित भएको र कृषि उपज बजारसम्म पुग्न नसकेको अवस्थामा स्थानीयको जीवनयापन थप कठिन बनेको छ।
टेस्ट रसुवाका अनुसार उत्पादन भएका कृषि उपजको ठूलो हिस्सा बजारसम्म पुग्न सकेको छैन। उत्पादन खेर जाँदा किसानले लगानीसमेत उठाउन सकेका छैनन्। यस्तो अवस्थामा स्थानीय उत्पादनको बजारीकरण केवल व्यापारको विषय नभई विपत्तिपछिको आर्थिक पुनरुत्थानसँग जोडिएको विषय बनेको छ।

युवाहरुको अभियान
भोटेकोशीको बाढीले ठूलो मानविय र भौतिक क्षति पुर्याएसँगै रसुवाको बजारसँगको सम्पर्क कमजोर बनेको छ। यसको प्रत्यक्ष असर किसानको उत्पादन, स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिमा परेको छ। किसानले उत्पादनको बजार र उचित मूल्य प्राप्त गर्न सकुन् र उपभोक्ताले पनि सहज कृषि उपज खरिद गर्न सकून भन्ने उद्देश्यका साथ युवाहरूले अभियान अघि बढाएका हुन्।
तर, युवाहरूको व्यक्तिगत पहलले मात्र दीर्घकालीन समाधान सम्भव छैन। कृषि उत्पादनको नियमित ढुवानी, बजारको सुनिश्चितता, अस्थायी आवागमन व्यवस्थाको सुधार तथा सडक र पुलको पुनर्निर्माणका लागि सरकार, स्थानीय तह र सम्बन्धित निकायले तत्कालै काम थाल्नु जरुरी छ।
रसुवाका किसानको उत्पादन बारीमै कुहिन नदिने र जिल्लालाई पुनः बजारसँग जोड्ने उद्देश्यका साथ अघि बढेको टिम रसुवाको अभियानले विपत्तिपछिको पुनर्निर्माणमा स्थानीय युवाको भूमिका कति महत्त्वपूर्ण हुन सक्छ भन्ने देखाएको छ। सडक र पुल भत्किए पनि स्थानीयको श्रम, सहकार्य र युवाको पहलबाट रसुवाको कृषि अर्थतन्त्रलाई पुनः उकास्न सकिने विश्वास उनीहरुको छ।