काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको छलफलबिनै भारत भ्रमणमा जाने लागेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसहितको टोलीको नेतृत्व गर्दै मंसिर ६ र ७ गते भ्रमण गर्न लागेका बालेनले सभापति लामिछानेसँग भ्रमणबारे हालसम्म परामर्श नगरेको सहप्रवक्ता सुरेन्द्र चौधरीले बताए। ‘सभापति मधेशबाट फर्किनुभएको छ। प्रधानमन्त्रीले अहिलेसम्म छलफल गर्नुभएको छैन। छलफल गर्नुहोला,’ उनले भने।

रास्वपा संसदीय दलको नेता तथा वरिष्ठ नेताको समेत भूमिकामा समेत रहेका बालेनले पार्टीको शीर्ष तहमा लामो समयदेखिको भारत भ्रमणको तयारीबारे समेत जानकारी पनि गराएका छैनन्। प्रधानमन्त्री भएको ९ महिनापछि पहिलो औपचारिक विदेश भ्रमणका रूपमा भारत जान लागेका बालेनले पार्टीको विदेश नीतिका बारेमा समेत जानकारी नलिएको सभापति लामिछाने निकट एक नेताले बताए।
‘सभापति भारत भ्रमणका बेलामा भारतकै पत्रिकामा छापिएको एउटा लामो आर्टिकल छ त्यसले रास्वपाको भारतसँगको सम्बन्ध के हो भन्नेबारे सबै कुरा बताउँछ। सरकारले हाम्रो विदेश नीतिभन्दा बाहिर गएर कुनै पनि सहमति, सम्झौता गर्नु हुँदैन। गरियो भने त्यसले विवाद निम्ताउँछ नै। त्यसैले पनि उच्चस्तरमा एउटा समझदारी त हुनुपर्ने हो। तर, प्रधानमन्त्रीले भ्रमणबारेमा सभापतिसँग केही परामर्श गर्नुभएन,’ उनले भने।
लामिछानेले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए भने लामिछानेलाई भारतले गरेको भव्य स्वागतलाई निकै महत्वका साथ हेरिएको थियो। दोस्रो पटक लामिछाने तीर्थाटन भन्दै कात्तिक ६ देखि ८ गतेसम्म भारत गएका थिए।

लामिछानेसँग संवादहीनताको अवस्थामा रहेका बालेनले पार्टीलाई औपचारिक जानकारी नगराएकोबारे रास्वापामा असन्तुष्टि बढिरहेको छ। सहप्रवक्ता चौधरीले पनि सरकारले सुझाव मागेको अवस्थामा मात्र पार्टीले विदेश नीतिबारे ब्रिफिङ गर्ने बताए। तर, अहिलेसम्म सरकार र पार्टीबिचमा विदेश भ्रमणबारे सामान्य छलफल समेत भएको छैन। शीर्ष नेता, पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्र मन्त्रीसँग समेत परामर्श गरेर महत्त्वपूर्ण विदेश भ्रमण गर्ने अभ्यास छ।
तर, शाहले आफ्नै पार्टीलाई समेत भ्रमणका बेलामा बेवास्ता गरेका छन्। लामिछाने आफैँले पनि बालेनलाई विदेश भ्रमणबारे केही सोधेका छैनन्। लामिछाने र बालेनबीच कात्तिक १२ गते लामिछानेकै निवासमा ४ घण्टा लामो कुराकानी भएको थियो। उक्त कुराकानीपछि सम्बन्ध झनै बिग्रिदैं गएको लामिछाने निकट नेताहरूको बुझाइ छ।
दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने, पत्रकार पक्राउ गर्ने, कर्मचारीलाई धम्की दिने, प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, बालेनका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार इनम सापकोटासँग जोडिएको प्रकरण लगायतले लामिछाने र बालेनबीच दरार उत्पन्न भएको छ। कार्कीलाई हटाउने निर्णयबारे सरकारले प्रस्ट्याइदिनुपर्ने अडान लामिछाने पक्षले राख्दै आएको छ।

दुई नेताबीचको सम्बन्ध बिग्रिएकाले पछिल्लो समय पार्टी र सरकारबीच समन्वय हुन नसकिरहेका बेला बालेनले भारत भ्रमण गर्दै छन्। परराष्ट्र मन्त्री खनाल प्रमुख तथा महेश भट्ट, टासी ल्हान्जोम र हिक्मतजंग कार्की सदस्य रहेको रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागले पनि भ्रमणबारे चासो देखाएको छैन। विभाग हाल निष्क्रिय अवस्थामा छ।
लामिछानेसँग छलफलबिनै बालेनले भ्रमणका लागि दुईतर्फी हवाइ रुट,पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, द्विपक्षीय ऊर्जा व्यापार तथा जलस्रोत सहकार्य, क्वारेन्टाइन तथा व्यापार सहजीकरण, डिजिटल भुक्तानी प्रणाली लगायतका एजेण्डा तय गरेका छन्।
पार्टीका एकपछि अर्को निर्देशन कार्यान्वयन नभएको तथा पार्टीको नीति विपरीत सरकार चलिरहेको भन्दै लामिछाने निकट नेताहरुले पार्टीका आन्तरिक छलफलमा सरकारबारे असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

सरकार र पार्टीबीच असमझदारी बढ्दै जाँदा रास्वपा सचिवालय बैठकले विवादित न्यायधीशहरुबारे महाभियोगको प्रक्रिय अघि बढाउन संसदीय दललाई निर्देशन दिए पनि दलका नेताको रुपमा बैठक बोलाउन साहले ग्रीन सिग्नल नदिएपछि हालसम्म दलको बैठक बसेको छैन्। त्यसपछि कार्की र शाहका मुख्य सल्लाहकार व्यञ्जनकार बिचौलिया इनम सापकोटासँग जोडिएको प्रकरणका कारण सरकार अप्ठेरोमा परेको थियो। त्यति बेला रास्वपाका लामिछाने निकट नेताहरुले नै बालेनको आलोचना गरिरहेकाबेला भ्रमण हुन लागेको छ।
लामिछाने र बालेनको असमझदारी संसद्मा समेत देखिन थालेको छ। अधिवेशन नभएका बेलामा पनि प्रधानमन्त्रीको भ्रमणबारे अन्तराष्ट्रिय सम्बन्ध समितिमार्फत संसद्लाई जानकारी गराउने अभ्यास रहे पनि समिति सभापति रहेकी रास्वपाकी सांसद सुम्निमा उदासले भ्रमणबारे जानकारी गराउन भन्दै बैठक नै बोलाएकी छैनन्। बालेनले संसद्लाई जानकारी नगराएपछि लामिछाने निकट सांसदहरुले समेत बालेनको भ्रमणपछि पार्टीमा झनै समस्या बढ्नसक्ने भन्दै आशंका व्यक्त गरिरहेका छन्।