काठमाडौं। सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरको खेलमा चितवन राइनोजमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
यसअघिका दुई संस्करणमा पनि सुदूरपश्चिम फाइनल पुगेको थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदा सुदूरपश्चिमले उपाधि भने जितेको छैन। यस संस्करणमा पनि उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी नै भिड्नेछन्।

फाइनल पुग्न कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दोस्रो क्वालिफायरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो।
सुदूरपश्चिमलाई लक्ष्यसम्म पुर्याउन थारिन्दु रत्नकायकेले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४२ बलमा ७ चौका प्रहार गर्दै संयमित ब्याटिङ गर्दा सुदूरपश्चिम लक्ष्यसम्म पुग्न सक्यो। त्यसबाहेक विनोद भण्डारीले २३, दीपेन्द्रसिंह ऐरीले १५ तथा इशान पाण्डे र आरिफ शेखले समान १० रन बनाए।

बलिङमा चितवनका रञ्जित कुमारले २ तथा कमलसिंह ऐरी, रिजन ढकाल, उस्मा मीर तथा सलाउद्दीन खानले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।

फाइनल पुग्न जित्नै पर्ने खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको चितवन ब्याटिङमा पूर्णत: डेभिड मलानमा निर्भर रह्यो। उनले ५१ बलमा सर्वाधिक अविजित ७१ रन बनाउँदा सलाउद्दीन खानले १८ तथा कमलसिंह ऐरीले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिँदा थारिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए।
चितवन आज पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो फाइनल खेल्ने योजनामा छ। यसअघिका दुई फाइनलमा सुदूरपश्चिम क्रमश: जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

सुदूरपश्चिम र लुम्बिनीले यसै संस्करण पनि लिग चरणमा र क्वालिफायरमा खेलिसकेका छन्। यी दुबै खेलमा लुम्बिनी विजयी भएको थियो।