BIZMANDU
www.bizmandu.com

श्रम मन्त्रालय र महासंघको आयोजनामा रोजगार मेला, ‘मेलास्थलमै अन्तर्वार्ता र छनोट’

२०८३ मंसिर ३

श्रम मन्त्रालय र महासंघको आयोजनामा रोजगार मेला, ‘मेलास्थलमै अन्तर्वार्ता र छनोट’
श्रम मन्त्रालय र महासंघको आयोजनामा रोजगार मेला, ‘मेलास्थलमै अन्तर्वार्ता र छनोट’

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ। रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।

GBIME
Tata

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव तथा मन्त्रालयका सचिव डा.दिपक काफ्ले र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको रोहवरमा बिहीबार मेला आयोजनाको सम्झौता भएको हो। सम्झौतामा मन्त्रालयका तर्फबाट सहसचिव हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरे।

सम्झौता अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्ने छ। महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको नेतृत्व गर्ने छ । मेलाका लागि महासंघले आवश्यक सचिवालय स्थापना तथा रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने छ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ को अवधिलाई रोजगार प्रबर्धन दशकका रूपमा अघि बढाएको छ।

हस्ताक्षरपछि महासंघका उपाध्यक्ष पाण्डेले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्नु र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको बताए।

मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिने छ। रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिने छ।

रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम पनि सञ्चालन गरिने छ।

मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइने जनाइएको छ।