BIZMANDU
www.bizmandu.com

एमालेको भेला २१ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न, बालेनको आसन्न भारत भ्रमणबारे के भन्यो?

२०८३ मंसिर ३

एमालेको भेला २१ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न, बालेनको आसन्न भारत भ्रमणबारे के भन्यो?
एमालेको भेला २१ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न, बालेनको आसन्न भारत भ्रमणबारे के भन्यो?

काठमाडौं। नेकपा (एमाले)को राष्ट्रिय भेला २१ बुँदे समसामयिक प्रस्ताव र संकल्प पारित गर्दै सम्पन्न भएको छ।

GBIME
Tata

आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाका लागि आन्दोलनको तयारी गर्ने संकल्पसहित एमालेको भेला बिहीबार सम्पन्न भएको हो।

भेलामा देशभर र प्रवासबाट गरी ३ हजार ४१४ प्रतिनिधि सहभागी थिए।

भेलाले सरकार अलोकतान्त्रिक, स्वेच्छाचारी र निरंकुश भएको निष्कर्ष निकालेको छ। ‘बालेन्द्र सरकारको ८ महिना राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थाहरुको मानमर्दन, राज्यसंयन्त्रमाथि नग्न हस्तक्षेप र स्वेच्छाचारी एवं अनुत्तरदायी शासनका रुपमा बितेका छन्,’ भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कतिपय प्रतिष्ठित व्यवसायीहरुलाई बिना कसुर समात्ने र तर्साउने काम गरिएको छ । संवैधानिक अङ्गका पदाधिकारीहरुलाई प्रधानमन्त्री कार्यालयमा घण्टौँ बन्धक राखेर आतङ्कित पारिएको छ। राष्ट्रसेवक कर्मचारीहरुलाई धम्काउँदै बदनियतपूर्ण निर्णय गराइएको छ। यो भेला सरकारका यस्ता अलोकतान्त्रिक, स्वेच्छाचारी र निरङ्कुश कदमको भर्त्सना गर्दछ।’

भेलाले २०८२ भदौ २३-२४ को घटना पछाडिका अनेकौं षडयन्त्रको पर्दा क्रमशः खुल्दै गएको भन्दै निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठनको माग गरेको छ।

एमालेले सरकारमाथि संविधान, संवैधानिक संस्था र सङ्घीयताप्रति वक्रदृष्टि राख्दै आएकोखेको आरोप समेत लगाएको छ।

‘यो सरकार वस्तुतः संविधानका आधारस्तम्भ नै भत्काउन उद्दत छ भन्ने स्पष्ट देखिन्छ। राष्ट्रपति संस्था, संसद, राजनीतिक दल, संवैधानिक अङ्ग, निजामति र सुरक्षा अङ्गहरुको निरन्तर मानमर्दन भइरहेको छ। यो सरकार महाअभियोग, झुठ्ठा मुद्दा र कार्बाहीको सन्त्रास देखाएर कानुनसम्मत् कर्तव्य पालना गर्नु पर्ने राज्यका निकायलाई आफ्ना स्वार्थको सेवा गर्ने आज्ञापालकको रुपमा बदल्न चाहन्छ,’ एमालेले भनेको छ, ‘बिचौलियामार्फत् राज्यका संवेदनशील सूचना, महत्वपूर्ण निर्णय र पासपोर्ट, सुनकोशी-मरिन डाइभर्सन जस्ता ठुला आर्थिक कारोबारमा हस्तक्षेप भइरहेको छ। यो भेला सरकारका यस्ता क्रियाकलापप्रति गम्भीर आपत्ति प्रकट गर्छ।’

एमालेले व्यवसायीलाई त्रसित पार्ने क्रियाकलाप तत्काल बन्द गरी अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको छ।

एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताएको छ। ‘नेपालले आफ्ना सरोकार, हित र समस्याका विषय स्पष्ट र खुलाखुलस्त ढङ्गले राख्नुपर्छ। सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन, विषम वाणिज्य प्रबन्ध, बढ्दो व्यापार घाटा, हवाई प्रवेश विन्दुमा गरिएको असहयोग, दशकौंदेखि ‘होल्ड‘ गरिएका परियोजनाको कार्यान्वयन जस्ता मुद्दालाई इतिहासको बोझ ठानेर पञ्छाउने होइन, तिनको समाधानको स्पष्ट र समयतालिका सहितको मार्गचित्र तय गरिनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ।