BIZMANDU
www.bizmandu.com

प्राधिकरणले आइएक्समा ६१५ मेगावाट विद्युत बेच्न भारतबाट पायो अनुमति

२०८३ मंसिर ३

प्राधिकरणले आइएक्समा ६१५ मेगावाट विद्युत बेच्न भारतबाट पायो अनुमति
प्राधिकरणले आइएक्समा ६१५ मेगावाट विद्युत बेच्न भारतबाट पायो अनुमति

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)मा बिक्री गर्न अनुमति पाएको छ।

GBIME
Tata

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो। यो अनुमति बुधबारदेखि आगामी जेठ ३१ गतेसम्मका लागि भएको प्राधिकरणले जनाएको छ।

अनुमतिप्राप्त परिमाणमध्ये २०५ मेगावाट विद्युत कटैया-कुशाहा, रामनगर-सुरजपुर र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट विद्युत ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत आइएक्समा बिक्री गरिनेछ।

नेपाल विद्युत प्राधिकरण र भारतका एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी)बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत निर्यात हुँदै आएको छ। चालु वर्षका लागि सम्झौताअनुसार विद्युत निर्यात गर्ने अवधि गत कात्तिक १४ मा समाप्त भएको थियो।

मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि प्राधिकरणले निर्यातयोग्य आयोजनाको सूची कात्तिक १४ अघि नै भारतीय सम्बन्धित निकायमा पेस गरेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हाल ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति पाएको जानकारी दिए। उनका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। त्यसैगरी, द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार भारतका हरियाणा तथा बिहार र बंगलादेशमा विद्युत निर्यात हुँदै आएको छ।

थप २१ मेगावाट विद्युत निर्यात स्वीकृति

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ।

सेती खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत मंसिर २ देखि आगामी भदौ १५ सम्म आईएक्समा बिक्री गर्न प्राधिकरणले अनुमति पाएको हो।

यससँगै नेपालबाट भारततर्फ कुल १ हजार १९८ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ।

हिउँदयाममा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट १ हजार ४ मेगावाट विद्युत आयात गर्नसमेत प्राधिकरणले अनुमति पाइसकेको छ।