काठमाडौं।नेपालबाट मलेसिया कामदार पठाउँदा भएको आर्थिक अनियमितता प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवका रूपमा गरेको निर्णयका आधारमा अर्याल अनुसन्धानको राडारमा तानिएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्रोतले अर्याल अनुसन्धानको दायरामा रहेको पुष्टि गर्यो। ‘उहाँ पनि अनुसन्धानको सूचीमा हुनुहुन्छ’, प्रहरी स्रोतले भन्यो।
तर प्रहरीले अर्यालको पक्राउ अनुमतिबारे ठोस जानकारी दिएन। अर्याल २०७८ मंसिरदेखि करिब डेढ वर्ष श्रम मन्त्रालयको प्रशासनिक नेतृत्वमा थिए।
उक्त प्रकरणमा विदेश मुद्रा अपचलन तथा ठगी र संगठित अपराधसमेतको कसुरमा पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका छन्। तत्कालीन सचिव विनोद केसीसहितका चार प्रशासकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
मलेसियाको स्वास्थ्य परीक्षण प्रकरणमा विवाद बढेपछि केही समय अघोषित रूपमा कामदार जान बन्द भएको थियो। निश्चित म्यानपावरमार्फत कामदार लैजाने गरी संयन्त्र खडाका विरुद्धमा नेपाल सरकारले कारबाही थालेपछि कामदार जान बन्द गरिएको थियो।
मलेसियाले फरेन वर्कर सेन्टरलाइज सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपाली ३६ स्वास्थ्य संस्थामा परीक्षण गरिएको रिपोर्टमार्फत भिसा दिने व्यवस्था गरेको थियो। सँगै एफडब्लूसीएमएस चलाउने वेस्टिनेट एसडीएनले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्रै कामदार लैजान दिने मान्यता दिएको थियो।
सिन्डिकेट खडा गरेर कामदार लैजाने तयारीप्रति बालेन्द्र शाह सरकारले असन्तुष्टि जनाउँदै कूटनीतिक प्रयास थालेको थियो। तर, ती प्रयास असफल भएपछि सिन्डिकेट खडा गरेर विगत केही वर्षदेखि प्रत्यक्ष जोडिएका व्यक्ति र म्यानपावर कम्पनीविरुद्ध कारबाही थालिएको थियो।
उक्त प्रकरणमा म्यानपावर व्यवसायी कैलाश खड्का असोज अन्तिम साता पक्राउ परेका थिए। खड्कापछि प्रहरीले बुधबार पूर्वमन्त्री र प्रशासक पक्राउ गरेको हो।
सिआइबी स्रोतले थप केही राजनीतिज्ञ र प्रशासकमाथि निगरानी रहेको समेत बतायो।