BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार र पारवहनलाई पनि प्राथमिकता दिन सुझाव, व्यवसायीका यस्ता छन् राय

२०८३ मंसिर २

प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार र पारवहनलाई पनि प्राथमिकता दिन सुझाव, व्यवसायीका यस्ता छन् राय
प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार र पारवहनलाई पनि प्राथमिकता दिन सुझाव, व्यवसायीका यस्ता छन् राय

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा उद्योग, वाणिज्य, पारवहन तथा आपूर्तिका क्षेत्रका समस्या उठाउन व्यवसायीहरुले सुझाएका छन्। व्यवसायिक संस्थाहरुले भ्रमणका क्रममा उठाउनुपर्ने विषय पहिचान गरी छलफलका लागि बुँदागत रुपमा प्रस्ताव गरेका हुन्।

GBIME
Tata

ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बीआईएस) प्रमाणीकरणमा बढ्दो प्राविधिक नियम र अनिवार्य प्रमाणीकरणको आवश्यकताहरुले नेपाली उत्पादनहरुलाई भारतीय बजार प्रवेशमा समस्या भएको विषय उठान गर्न सुझाइएको छ। नेपाली उत्पादनहरूका लागि प्रमाणपत्रको वैधता अवधि छोटो रहेको, नवीकरणमा लामो समय लाग्ने गरेको विषय उठानका लागि सुझाव दिइएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भ्रमणका दौरान उठाउनुपर्ने साझा एजेण्डा पहिचान गरिएको बताए। श्रेष्ठले भने, ‘उद्योग, वाणिज्य, पारवहन तथा आपूर्तिका क्षेत्रका समस्या उठाउन सहज होस् भनेर साझा विषय तयार पारेका हौं।’

नेपाल भारतविच आयात निर्यात हुने क्वारेन्टाइन तथा प्रयोगशाला परीक्षणका समस्या उठाउन पनि सुझाव दिइएको छ। पशुजन्य, वनजन्य, खाद्यान्न तथा केमिकललगायत निकासी÷पैठारीका झन्झट हटाउने विषय उठानमा सुझाव दिइएको हो।

क्रसबोर्डर पूर्वाधार र सेवा प्रवाहमा द्धिपक्षीय सुधारका विषय तथा चिनी, गहुँ, धानलगायत अत्यावश्यक वस्तुका कोटाले नेपालको आपूर्ति शृङ्खला तथा उद्योग व्यवसायमा परेको असरबारे कुराकानी गर्न पनि सुझाव दिइएको छ।

नेपाली जुट तथा जुटजन्य उत्पादनमाथि लगाइएको एन्टी–डम्पिङ महसुल र स्टिल उत्पादन लगायतमा लगाइएको सेफगार्डले नेपालको निर्यात प्रभावित भइरहेको विषयलाई पनि प्राथमिकतामा राख्न व्यवसायीहरुको सुझाव छ। औषधिजन्य उत्पादनहरूमा पारस्परिक मान्यतालाई पनि छलफलको विषय बनाउन सुझाइएको छ।

तेस्रो मुलुकमा उत्पत्ति भएका वस्तुको पुनः निर्यात, पुर्वाधार निर्माण र उपयोग, विभिन्न वस्तुको महसुल दर कोटाको खारेजी, उत्पत्तिको नियमको पुनरावलोकन तथा आपतकालीन अवस्थामा वैकल्पिक पारवहन मार्गको व्यवस्थाका विषय पनि उठान गर्न व्यवसायीको सुझाव छ।

बल्क कार्गो आवतजावतको विस्तार तथा नेपाल बंगलादेश व्यापारका लागि पारवहन सहजीकरणका विषय पनि उठान गर्न व्यवसायीको राय छ।