काठमाडौं। द्विपक्षीय सम्झौता विपरीत वैदेशिक रोजगारमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा दुई पूर्व मन्त्री पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको हो।
कुँवर र राय दुवै श्रम, रोजगार तथा सामाजिक सुरक्षा (तत्कालीन) मन्त्री भएका थिए। ठगी तथा संगठित अपराध कसुरमा कुँवर र यादव पक्राउ परेका हुन्।
अनियमितता प्रकरणमा जोडिएका अन्य राजनीतिज्ञ र उच्च प्रशासकमाथि निगरानी जारी रहेको सिआइबी स्रोतले बतायो।
मलेसिया सरकार र नेपाल सरकारबिच भएको सम्झौता विपरीत हुने गरी गैरकानूनी रूपमा ठगी गरी संकलन गरेको आरोप पक्राउ परेकाहरूमाथि प्रहरीले लगाएको छ।
कुँवर र यादवसँगै पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुङ्गाना, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख राजीव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
सम्झौता विपरीत अधिकार क्षेत्र नाघेर संकलित गरिएको कूल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ बराबरको रकम बदनियतपूर्वक अपचलन गराएको आरोप प्रहरीको छ।
संगठित समूहको लाभका लागि जानीजानी पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरूलाई संगठित रूपमा ठगी भएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय गरेको आरोप प्रहरीले उनीहरूमाथि लगाएको छ।
मलेसियाको स्वास्थ्य जाँच प्रकरणमा संलग्न म्यानपावर व्यवसायी कैलाश खड्कालाई सिआइबीले यसअअघि असोज अन्तिम साता पक्राउ गरेको थियो।
रोजगारीका लागि मलेसिया जाने युवाहरूको बायोमेट्रिक गर्दा सरकारले तोकेभन्दा बढी रकम लिएको आरोप खड्कामाथि लागेको थियो।
खड्का पक्राउपछि स्वास्थ्य परीक्षणसँगै रोजगारमा भएका अन्य अनियमितता खुल्दै गएका थिए।