BIZMANDU
www.bizmandu.com

बालेनले छुटाउन लागेको अवसर : अम्बानी, अडानीदेखि अनिल अग्रवालसम्मको डिनर मिटिङ ‘मिस’

२०८३ मंसिर २

बालेनले छुटाउन लागेको अवसर : अम्बानी, अडानीदेखि अनिल अग्रवालसम्मको डिनर मिटिङ ‘मिस’
बालेनले छुटाउन लागेको अवसर : अम्बानी, अडानीदेखि अनिल अग्रवालसम्मको डिनर मिटिङ ‘मिस’

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको बहुप्रतिक्षित भारत भ्रमणमा ठूला पूर्वाधारमा लगानीका लागि प्रस्ताव गर्ने एजेण्डा तयार पारिएको छ।

GBIME
Tata

बुटवल-पोखरा एक्सप्रेस हाइवे, निजगढसम्म रेल नेटवर्क, मोतिहारी-सर्लाही ग्यास पाइपलाइनदेखि भोटेकोशी बाढीबाट क्षति भएका जलविद्युत आयोजना तथा पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गर्ने प्रस्तावमा प्रधानमन्त्री कार्यालयदेखि परराष्ट्र मन्त्रालयले घनिभूत छलफल गरिरहेका छन्।

दुई अर्ब डलरको ऋण र अनुदानसहितको प्याकेज तयार पारिरहेको सरकारले एउटा ठूलो अवसर भने मिस गर्न लागेको छ। त्यो हो- भारतका ठूला बहुराष्ट्रिय कम्पनीका लगानीकर्तासँग प्रधानमन्त्री बालेनको प्रत्यक्ष भेटघाट।

बालेनको भ्रमणमा भारतको निजी क्षेत्रसँग प्रत्यक्ष भेटघाट र छलफल राखिएको छैन। जसले नेपालबाट जाने निजी क्षेत्रको भ्रमण पनि सामान्य हुने भएको छ।

भ्रमण जम्माजम्मी २५ घण्टाको हुने भएकाले बालेन निजी क्षेत्रसँगको संवादमा रहने छैनन्। बालेन बस्ने होटल ताजमा हुने नेपाल-भारत बिजनेश फोरमको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल तथा भारतका कुनै मन्त्री सहभागी हुने तय भएको स्रोतले बतायो।

डिनरसहितको छलफलमा पनि प्रधानमन्त्री बालेन सहभागी हुने/नहुने टुंगो छैन।

यसबाहेक लगानी बोर्ड र नेपाल-भारत चेम्बर अफ कमर्सले गर्ने तयारी गरेको सीइओ राउण्ड टेबल कार्यक्रम हुने सम्भावना करिब करिब टरेको छ। भारतका टप सीइओसहितको छलफलमा प्रधानमन्त्री बालेनलाई सहभागी गराएर नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने योजना अगाडि नबढ्ने स्रोतले बतायो।

नेपालमा बालेनको उदय र उनी प्रधानमन्त्री बनेपछि भारतीयमा धेरै उत्सुकता छ। त्यो उत्सुकताका कारण भारतका ठूला लगानीकर्ता अडानी, अम्बानी र मित्तल समूहका उच्च तहका व्यक्ति सहभागी हुन सक्ने विश्वाससहित कार्यक्रमको योजना बनाइएको थियो। बालेनप्रतिको त्यो उत्सुकतालाई नेपालमा लगानी भित्र्याउने माध्यम बनाउन सकिने प्रशस्त आधार थियो। स्वाभाविक रुपमा भारतसँग सडक, रेल र पूर्वाधारका लागि आर्थिक सहयोगको अपेक्षा राख्ने नै गरिन्छ।

मुकेश अम्बानी, अनिल अग्रवाल, गौतम अडानी लगायत ठूला लगानीकर्तासँग प्रधानमन्त्री बालेनको डिनर मिटिङ राख्न सक्दा त्यसले मिडिया कभरेजसहित लगानीको ठूलो सन्देश जान सक्छ। यो कार्यक्रमका लागि बालेन तयार हुँदा भारत सरकारले नै उच्च प्राथमिकतामा दिएर व्यवस्थापन गर्थ्यो।

प्रधानमन्त्री बालेनलाई उनको सचिवालयले यो डाइमेन्सनतर्फ डोर्‍याएनन्। अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि प्रधानमन्त्री बालेनलाई यो विषयमा कन्भिन्स गराउन सफल भएको देखिएन।

सरकार विगतमा जस्तै पुरानै अनुदान र ऋण सहयोगको एजेण्डा बनाउन अल्झिएको छ।

देशको आर्थिक रूपान्तरणका लागि ऋण र अनुदान मात्रै होइन उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि प्रशोधन, पूर्वाधार तथा सेवा क्षेत्रमा ठूलो लगानी भित्र्याउन उत्तिकै आवश्यक छ।

विगतका सरकारको क्रमभंगता गर्दै भारतबाट सहयोग माग्ने मात्रै होइन, लगानी भित्र्याएर देशभित्रै रोजगारी र राजस्व बढाउन भूमिका खेल्न सकिने अवस्थामा अहिलेको नेतृत्व चुक्न लागेको छ।

भारत विश्वको उदियमान ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ। त्यहाँका ठूला औद्योगिक घरानाले छिमेकी मुलुकमा ऊर्जादेखि पूर्वाधारसम्म ठूला लगानी गरिरहेका छन्। उनीहरुसँग वित्तीय क्षमता, प्रविधि र अनुभव समेत छ।

नेपालसँगको निकटता, सांस्कृतिक सम्बन्ध र बजारको सहज पहुँचका आधारमा भारतीय लगानीकर्ताको आँखा नेपालका विभिन्न क्षेत्रमा छ।

विश्वको धनाढय सूचीमा रहेका मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज २० अर्ब लगानी गर्ने योजनासहित नेपाल आएको थियो। विशेष आर्थिक क्षेत्र सिमरामा ८० विघामा इन्डस्ट्रियल भिलेज बनाउने योजनासहित नेपाल आएको रिलायन्सले जग्गा अभावमा योजना होल्ड गरेको छ।

अडानी समूहले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको धेरै वर्ष भइसकेको छ। ऊर्जा मात्रै होइन, नेपालको विमानस्थल सञ्चालनमा समेत अडानी समूह इच्छुक छ।

तर, विगतका सरकारले ऊर्जादेखि विमानस्थलसम्ममा कुनै निर्णय गर्न सकेनन्। यहाँ लगानी गर्न नपाएपछि अडानी समूहले भुटानमा पाँच हजार मेगावाट जलविद्युत आयोजना बनाउने भन्दै त्यहाँको सरकारी कम्पनी ड्रुक ग्रीन पावर कर्पोरेसनसँग सम्झौता गरिसकेको छ।

सन् २०२५को सेप्टेम्बरमा अडानी समूहले वाङ्छु परियोजनामा ६० अर्ब भारु लगानीको घोषणा गरेर काम सुरु गरिसकेको छ। यो आयोजना ५७० मेगावाटको हो।

बिहारमा जन्मिएका वेदान्त समूहका अनिल अग्रवालले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेका छन्। एक वर्षअघि उनले आफ्ना समूहका उच्च व्यवस्थापकलाई नेपाल पठाएका थिए। ती प्रतिनिधिले यहाँका सरकारी अधिकारीसँग छलफल गरे पनि ब्रेकथ्रु हुन सकेन्।

भारतदेखि लण्डनसम्म लगानी गरिरहेका अनिलले छिमेकी देश नेपालमा आउन चाहिरहेको बेला बालेनले भेटका लागि समय तय गर्दा ब्रेकथ्रु हुन सक्छ। त्यसैले प्रधानमन्त्रीको भ्रमणलाई सरकारी तहमा सहयोग माग्ने औपचारिक कूटनीतिक यात्रामा मात्रै सीमित गर्नु देशको दीर्घकालीन हितमा देखिंदैन।

विशेषगरी नेपालमा जलविद्युत् उत्पादन र प्रसारण, औद्योगिक पूर्वाधार, पर्यटन, डिजिटल सेवा, कृषि तथा खाद्य प्रशोधन र यातायात क्षेत्रमा लगानीका सम्भावना भारतीय उद्योगी व्यवसायीबीच प्रस्तुत गर्न सकिन्छ। भारतका ठूला कम्पनीलाई नेपालमा उत्पादन केन्द्र स्थापना गर्न, संयुक्त लगानीका परियोजना अघि बढाउन र तेस्रो मुलुकमा निर्यात गर्ने उद्देश्यसहित उद्योग स्थापना गर्न प्रोत्साहित गर्न सकिने आधारहरु छन्।

परम्परागत शैलीकै भ्रमणको एजेण्डाले प्रधानमन्त्री बालेन भारतीय लगानीकर्ताका लागि नेपाल उत्पादन र लगानी गन्तव्य हो भन्ने देखाउनबाट चुक्न लागेका छन्।