काठमाडौं। आइएमई समूहले जगदीश खड्कालाई ‘ग्रुप भाइस प्रेसिडेन्ट’ नियुक्त गरेको छ। खड्काले आइएमई समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन्।
आइएमईका अनुसार समूहका कम्पनीबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ।
यसअन्तर्गत नयाँ सेवा र साझेदारी विकास गर्न, ग्राहक अनुभव सुधार गर्न र डिजिटल अर्थतन्त्रमा आइएमई समूहको योगदान विस्तारको कार्य प्राथमिकतामा रहने समूहले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
चार्टर्ड एकाउन्टेन्ट खड्कासँग १५ वर्षभन्दा बढीको कार्य अनुभव छ। उनले यसअघि चार वर्ष इसेवामा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त ‘ग्रुप भाइस प्रेसिडेन्ट’ खड्कालाई स्वागत गरेका छन्। उनले समूहका हरेक कम्पनीलाई खड्काले अझ बलियो बनाउने र डिजिटल रूपान्तरणलाई विस्तार तथा सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न सक्नेमा विश्वस्त रहेको बताए।
खड्काले आइएमई समूहका प्राथमिकता अनुसार नतिजा निकाल्न ध्यान केन्द्रित गर्ने बताए।
आइएमई समूहको रेमिटेन्स, बैंक तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायत क्षेत्रमा लगानी छ।