काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले सेन्जेन विमानस्थलमा स्वागत गरेका हुन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सीले विमानस्थलमै ट्रम्पलाई अंकमाल गर्दै स्वागत गरेका हुन्। यो दृश्यलाई विश्लेषकहरुले ’रियर’ (दुर्लभ) भनेका छन्।
चिनियाँ राष्ट्रपति विमानस्थल पुगेर कसैलाई स्वागत गर्न विरैले जाने गर्छन्। यसलाई धेरैले सुनियोजित कूटनीतिक सद्भाव पनि भनेका छन्।
बिहीबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसमेतको सहभागितामा हुन लागेको ऐतिहासिक त्रिपक्षीय बैठकमा सहभागी हुन ट्रम्प चीन पुगेका हुन्। तीन शीर्ष नेताबीच हुने यो भेटलाई महत्वका साथ हेरिएको छ।
सेन्जेनमा चीनले एसिया प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन पनि आयोजना गरिरहेको छ।
फिलिपिन्सबाट ट्रम्प चीन पुगेका हुन्। फिलिपिन्समा भएको सम्मेलनमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीज र जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गरेका थिए।
रसियाली राष्ट्रपति पुटिन भने चीन पुगिसकेका छन्। सीले पुटिनलाई चीनमा स्वागत गर्दै उनलाई ’पुरानो मित्र’ भनी सम्बोधन गरेका थिए।
रसिया र युक्रेन युद्ध सुरु भएयता यो हुन लागेको बहुप्रतिक्षित छलफल हो। त्यससँगै यो भेटमा खाडी तनाव, एआई लगायतका विषयले समेत प्रवेश पाउने सम्भावना रहेको छ।