काठमाडौं। मंगलबार राति डेढ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५८ वर्षीय चिनियाँ नागरिक ल्यान्ड भए। नेपाल एयरलाइन्सको उडानमा हङकङदेखि काठमाडौं आएका थिए। यसअघि पनि उनी नेपाल आउने गरेका थिए।
भन्सार चेकजाँच पछि उनी बाहिरिए। भन्सार कर्मचारी र सशस्त्र प्रहरीले चेक गर्दा केही भेटिएन। तर नेपाल प्रहरीलाई भने उनीमाथि शंका लाग्यो। हिँडाइ र कुरा गराइको शैली शंकाको आधार थियो। त्यसपछि प्रहरीले ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो।
उनले बोकेको ब्याग, शरीर चेक गर्दा प्रहरीले केही भेट्टाएन। केही नभेटेपछि छाड्न लगिएको थियो तर उनले शरीरमा केही लुकाएको हुनसक्ने शंका गर्यो। यसअघि पनि विदेशबाट तस्करी गर्नेले मलद्वारमा सुन ल्याउने गरेका थिए।
त्यसपछि प्रहरीले उनलाई शौचालयमा लग्यो। शौच गराउदा ४ वटा गोलाकार प्लास्टिकले बेरेको वस्तु निस्कियो। खोलेर हेर्दा त्यसमा सुन थियो। करिब १ किलो ८ सय ३ ग्राम ७ सय ७० मिलिग्राम सुन।
शौच गर्दा सुन ननिस्किएको भए प्रहरीले एक्सरेको लागि अस्पताल लग्ने तयारी समेत गरेको थियो। ‘शंका लागेपछि हामीले नियन्त्रणमा लिएर चेक गरेका हौं,’ विमानस्थलमा खटिएका एसपी ढुण्डिराज नेउपानेले भने, ‘शंका भइरहेको अवस्थामा केही भेटिएन भने यस्ता केसमा अस्पताल लग्ने गरेका छौँ।’
तीन दिनअघि पनि प्रहरीले आधा किलो सुनसहित चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो।